निजी प्रसुति गृहमा सुत्केरी भएका महिलालाई भत्ता, सरकारी रित्तै


सुमन मल्ल-

फागुन ९ मुगु---
नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गराउने तथा स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति हुने गर्भवति महिलालाई प्रोत्साहन र यातायात खर्च दिदै आए पनि नीजी क्षेत्रको लगानीमा स्थापना भएका स्वास्थ्य संस्थामा प्रसुति हुने गर्भवति महिलालाई जिल्ला स्वास्थ्य कार्यालय मुगुले भत्ता दिएको पाईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मातहतका सदरमुकाम बाहिरका प्रसुति गृह तथा स्वास्थ्य संस्थामा प्रसुति भएका गर्भवति महिलाले अहिलेसम्म रकम नपाएको गुनासाहरु आईरहेको बेला सदरमुकाम नजिक कार्कीवाडा गाविसमा मानव अधिकार तथा बातावरण विकास केन्द्र हिरेण्डेक नामक गैर सरकारी संस्थाले कार्कीवाडा गाविसको ढुम गाउँमा स्थापना गरेको प्रसुति गृहमा सुत्केरी भएको महिलालाई जिल्ला स्वास्थ्य कार्यालय मुगुबाट सुत्केरी भत्ता दिईएको पाईएको छ ।
अहिलेसम्म प्रसुति गृहमा सुत्केरी भएका ३६ जना गर्भवति महिला मध्य १६ जनालाई चार पटक गर्भ जाँच गराएको चार सय र प्रसुति गृहमा सुत्केरी भएको यातयात खर्च बापत १५ सय रुपैया जिल्ला स्वास्थ्य कार्यालयबाट दिईएको पाईएको छ । प्रसुति गृहका लागि संस्थाले एक जना अनमि राखे पनि गर्भवति महिला सुत्केरी हुन आए जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मि पुग्ने गरेका छन । स्वास्थ्य सेवा प्रदान गर्नु राम्रो भए पनि कानुन विपरित रकम दिन नमिल्ने जिल्ला स्वास्थ्य कार्यालय स्रोतले बतायो । स्रोतका अनुसार जिल्ला अस्पतालका स्वास्थ्यकर्मि गएर गैर सरकारी संस्थाले स्थापना गरेको प्रसुति गृहमा काम गर्नु तथा सरकारी स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने गर्भवती महिलाका लागि आएको रकम दिनु सोझै गैर कानुनी कार्य हो ।
गाउँमा महिला महिनावारी हुँदा र सुत्केरी हुँदा गोठमा नवसी सुरक्षित रुपमा संस्थाले निर्माण गरेको भवन भित्र बस्ने प्रयोजनका लागि भवन बने पनि अहिले त्यसलाई प्रसुति गृहमा रुपान्तरण गरिएको छ । यो संस्थाले आफ्नै तर्फबाट जिल्लाका सेरी, रोवा, कालै, र रारामा क्रमश प्रसुति गृह निर्माण गर्ने जनाएको छ । सरकारी स्वास्थ्य संस्था रहेका ठाउमा कुनै पनि संस्थाले प्रसुति गृह निर्माण गरि दिन सक्छ तर आफ्नै मात्र स्वामित्व रहने गरि प्रसुतिगृह निर्माण तथा सेवा प्रदान गर्न मिल्दैन , स्रोतले भन्यो ।जिल्ला स्वास्थ्य कार्यालय, क्षेत्रिय स्वास्थ्य निर्देशनालय र स्वास्थ्य सेवा विभागको अनुमति पाए मात्र प्रसुति गृह स्थापना गर्न पाउने भए पनि संस्थाले कुनै अनुमति नै नलिई गैर कानुनी रुपमा प्रसुति गृह चलाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..