स्वास्थ्य संस्थाहरुमा औषधी अभाव, जिल्ला स्वास्थ्यको स्टोर सधै बन्द
सुमन मल्ल,
मुगु न्युज डट कम,
मुगु , माघ २२------
जिल्ला स्वास्थ्य कार्यालय मुगु मातहत रहेका जिल्ला भरिका स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव देखिएको छ । जिल्लाका लागि कार्यालयले बार्षिक दश लाखको औषधी खरिद गर्ने गरिरहेको छ भने मध्य पश्चिम क्षेत्रिय मेडिकल स्टोर नेपालगञ्जले पनि लाखौ रकमको औषधी पठाउने गरेको छ । वेला वेला औषधी अभाव भएको भन्दै कार्यालय, विभागले औषधी पठाउने गरेको भए पनि मुगु जिल्लाका दुई दर्जन बढि स्वास्थ्य संस्थाहरुमा औषधी नपुगेर सर्व साधारणले स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मुगुले भेक क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुका लागि थोरै मात्र औषधी पठाउने गरेका कारण औषधी स्वास्थ्य संस्थामा पुगेकै दिन सकिने गरेको स्वास्थ्य कर्मिहरुले नै बताउदै आएका छन । जिल्ला स्वास्थ्य कार्यालयमा रहेको स्टोरमा के कति औषधी छ भन्ने जानकारी पाउन कठिन छ । स्टोर किपर धान्ने बुढा कार्यालयमा कहिले काँही मात्र विहान पख जाने गरेका कारण प्राय जसो जिल्ला स्वास्थ्य कार्यालयको औषधी स्टोर बन्द रहने गरेको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय स्रोतले दिएको जानकारी अनुसार जिल्ला स्वास्थ्य कार्यालयका अलवा सदरमुकाम गमगढीमा समेत गोप्यमा अर्को छुट्टै स्टोर रहेको छ । गमगढीमा बजारमा रहेको स्टोरबाट औषधी कहाँ जान्छ भन्ने पनि कसैलाई थाहा नभएको स्रोतले बतायो ।
जिल्ला भरिमा रहेका दुई दर्जन बढि स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव रहे पनि जिल्ला स्वास्थ्य कार्यालयले औषधी पठाएको छैन । स्वास्थ्य संस्थाहरुमा औंषधी नभए पछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मिले स्वास्थ्य संस्था जान छोडेका छन । स्वास्थ्य चौकि नार्थपुमा कार्यरत अहेव मिहिन्द्र शाहीले भने , स्वास्थ्य संस्थामा औषधी छैन ,घाम ताप्न मात्र किन जानु काम भएका मान्छे घरमा आईहाल्छन । त्यस्तै स्वास्थ्य चौकि कच्चेका अनमी निर्मला बाँनियाँले पनि त्यस्तै कुरा सुनाईन । यता औषधी खोज्न धेरै मान्छे आउछन औषधी छैन कार्यालयले पठाउदैन । हामीले के दिने ? थोरै भएको औषधी एकै चोटी सकिन्छ उनले भनिन ।
एक त ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा औषधी अभाव भईरहने र स्वास्थ्यकर्मि समेत गाउँमा नजाने कारणले ग्रामीण क्षेत्रका सर्व साधारण सामान्य रुघा खोकि लाग्दा पनि स्वास्थ्य सेवाबाट बञ्चित हुने गरेका छन । स्वास्थ्य संस्थामा औषधी नभएको भन्दै स्वास्थ्यकर्मि आउदैन हामीलाई रुघा लाग्दा पनि एक टाटो औषधी पाउन मुश्किल छ, जिमा गाविस वडा नम्बर ६ का टेकबहादुर विष्टले गुनासो गरे । यद्यपी सदरमुकाम बाहिरका स्वास्थ्य संस्थाहरुमा औषधी अभाव भएको भने पनि ति स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मिहरुले औषधीको माग नगर्दा औषधी पठाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुमा स्टोरका लागि काजमा रहेका यमबहादुर मल्लको भनाई छ । उनले केहि औषधी नरहे पनि खासै अभाव नभएको बताए ।
गएको पुष र मंसिरमा जिल्लाको सोरु भेकका फैलिएको रुगा खोकिको प्रकोप नियन्त्रण गर्न जिल्ला स्वास्थ्य कार्यालय मुगुमा औषधी नभएको तथा स्टोर समेत बन्द हुँदा गमगढीमा रहेका निजी मेडिकलबाट औषधी लिनु परेको महामारी नियन्त्रण कार्यक्रमका फोकल पर्शन जंगलाल बुढाले बताए । गमगढीमा रहेका मल्ल मेडिकल हल, चन्द्र मेडिकल हल, शिवशक्ति मेडिकल हल र रारा फार्मेसीबाट ठुलो परिमाणमा औषधी किनिएको भए पनि जिल्ला स्वास्थ्य कार्यालयमा नभएको थोरै औषधीमात्र किनेको स्टोर किपर यमबहादुर मल्लले दावी गरे । रारा फार्मेसी बाहेक अरु औषधी पसलका सञ्चालक जिल्ला स्वास्थ्य कार्यालयमा कार्यारत स्वास्थ्यकर्मि हुन ।
0 comments
बिचार लेख्नुहोस्..