जिल्लाका ठुला विकास आयोजना — कतै अपुरा , कतै अलपत्र


सुमन मल्ल,
 मुगु न्यु डट कम,
 माघ २० मुगु ---
, विकास योजनाका निर्माण कार्य सम्पन्न हुँदा जिल्लाको समग्र विकास र उन्नतीमा महत्वपुर्ण भूमिका निर्वाह गर्न सक्ने जिल्लाका विकास योजना कतै अपुरा छन भने कतै अलपत्र अवस्थामा रहेका छन ।  राष्ट्रिय पहिचानका रुपमा रहेको मुगु सदरमुकाम गमगढी देखि तिब्बत नाक्चे लाग्नासम्मको ८४ किलो मिटर सडक निर्माणका लागि एक दशक अघि २०६१ सालमा नक्साङ्कन गरिए पनि गत वर्ष मात्र पचास लाख बढि खर्च गरिएको छ तर गमगढीबाट सुरु गर्नु पर्नेमा मुगु गाविस र नाक्चे लाग्ना विचमा एक सय मिटर पनि खनिएको छैन ।
सडक डिभिजन कार्यालय सुर्खेतले गमगढीबाट नाक्चे लाग्नासम्मका लागि सडक सुरु गरिए पनि काम हुन सकेको छैन ।  त्यस्तै सोरु भेकको नार्थपु गाविसमा रहेको गुल्म जिउलाका लागि सिंचाई कुलोको निर्माण थालिएको गुल्म सिंचाई आयोजनाका लागि अहिलेसम्म करोड औं खर्च भईसकेको छ भने बर्षेनी कर्णाली नदिले कुलोको मुहान कटान गर्दै गईरहेकाले फोतु गाविस वडा नम्बर १ रावलवाडाको दलित गाउँ पहिरोको उच्च जोखिममा परेको छ । यो कुलोको निर्माण कार्य २०४५ सालबाट सुरु गरिए पनि अहिलेसम्म कुनै काम हुन सकेको छैन भने बार्षिक आउने करोड औ रकम कहाँबाट आउछ र कसले खर्च गर्छ भन्ने जानकारी सम्म छैन । दुई वर्ष अगाडी गुल्म सिंचाई कुलोको विषयमा अख्तियार दुरुपयोग अनुसन्धानमा मुद्दा समेत परेको थियो तर सुनुवाई भएको छैन ।                                            सदरमुकाम गमगढी राष्टिय सडक सञ्जालसंग जोडिएको एक वर्ष भए पनि हिउँदमा हिमपात र वर्षामा पानीले सडक विग्रिने कारणले मुश्किलले वर्षमा चार महिना मात्र मालबाहक साना गाडी चल्ने गरिरहेका छन । नाग्म देखि गमगढीसम्मको ९४ किलो मिटर सडकको ट्रयाक खोल्न ५४ करोड खर्च भएको निर्माणमा खटिएको नेपाली सेनाले जनाएको थियो । गएको जेठमा नेपाली सेनाले सडक विभागलाई सडक बुझाएको थियो भने हिमपात र वर्षाका कारण सडक भत्किएर ठाउँ ठाउँमा अवरुद्ध भए पनि त्यसको निर्माण तथा स्तर उन्नती हुन सकेको छैन । २०३७ सालबाट निर्माण कार्य थालीएको मुगुको ताल्च विमान स्थलको अवस्था पनि उस्तै छ । २०६० साल बैशाखबाट कच्चि धावन मार्गमा हवाई जहाँज अवतरण गरि हवाई सेवा सुचारु गरिए पनि अहिलेसम्म स्तर उन्नती तथा धावन मार्ग कालो पत्रे हुन सकेको छैन । विमान स्थल कालो पत्रे गर्नका लागि २०६९ कार्तिक १५ गते देखि गरिएको १५ महिनाको सम्झौताको अबधी सकिए पनि विमान स्थल सुधारको कुनै काम भएको छैन । हिमपातका कारण अहिले पनि हवाई सेवा सुचारु हुन सकेको छैन ।                                            नेपालकै रमणिय तथा पर्यटकिय स्थल रारा ताल मुगुमा रहे पनि रारा घुम्न आउने पर्यटकको संख्या न्युन छ । रारा पुग्ने पर्यटकका लागि मनोरञ्जन , खान र वस्नको पर्याप्त व्यवस्था छैन । रारा तालको संरक्षण, सम्र्बद्धन र पुर्वाधार विकासका लागि वर्षेनी लाखौं रकम आउने गरे पनि दुरुपयोग हुने गरेको स्थानीयवासीको आरोप छ । रारा तालसंगै जिल्लामा पर्यटक तान्नका लागि तिर्थ स्थल हिमाल प्रशस्त छन तर प्रचार प्रसार हुन सकेको छैन । छाया नाथ, ऋणीमोक्क्ष, गडुल्नानी , माथिल्लो मुगु जस्ता पर्यटकलाई आर्कषित गर्ने स्थानहरु छन ।                                      जिल्लामा जडिबुटी प्रशस्त छ तर त्यसको संरक्षण , प्रशोधन र व्यवस्थापन नहुँदा बहुमुल्य जडिबुटी यार्सा गुम्बा, पाँच औले, चिराईतो , सुगन्धवाल लगायतका थुप्रै जडिबुटीको सहि सदुपयोग हुन सकेको छैन । मुगुको डोल्फु गाविसमा तामाखानी रहे पनि उत्खनन हुन सकेको छैन । जल स्रोत पर्याप्त रहे पनि सरकारी क्षेत्रबाट विद्युत उत्पादनका लागि चासो दिएको पाईदैन बरु भारतिय ऊर्जा कम्पनिको हातमा सुम्पिएको देखिएको छ । डोल्फु कर्णालीबाट विद्युत उत्पादन गरि भारत लिने र भारत पुगेपछि नेपाललाई बेच्ने गरि ३ सय ५० मेगावाट विद्युत उत्पादनका लागि नेपाल सरकारले ल्याङ्को ईन्फेक्ट नामक भारतिय ऊर्जा कम्पनिलाई अनुमति दिएको पाईएको छ । जुन कुरा जिल्लावासी र जिल्लाका राजनीतिक दलहरुलाई समेत थाहा छैन ।                        समग्रमा मुगु जिल्ला खनिज प्राकृतिक स्रोत साधन र पर्यटकिय हिसाबले सम्पन्न भए पनि जिल्लामा रहेको विकास निर्माणका ठुला आयोजना बन्न नसक्दा मुगुको आर्थिक अवस्था माथी उठ्न नसकेको नागरिक समाज मुगुका अध्यक्ष ज्ञानेन्द्र शाहीले बताए । मुगु जिल्ला राष्ट्रिय सडक सञ्जालसंग जोडिसकिएको अवस्थामा गमगढी नाक्चे लाग्ना ( तिब्बत ), गमगढी सिमिकोट, गमगढी बाजुरासम्म सडक सञ्जालमा जोडिए नेपालकै प्रमुख व्यापारिक केन्द्र बन्न सक्ने रारा क्याम्पसका प्रमुख डम्बर बहादुर रावलले बताए । मुगुले भविश्यमा देशको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेल्ने तथा विकासका सम्भावना धेरै बोकेको भए पनि राज्यको केन्द्रीकृत नीती तथा केन्द्रमा राजनीतिक पहुँच पुग्न नसक्दा जिल्लाको विकास हुन नसकेको रावलको भनाई छ ।                                                 गमगढी नाक्चे लाग्ना सडक जोडिए मुगुको प्रमुख व्यापारिक नाका तिब्बत हुने र जडिबुटी लगायत जिल्ला भित्र उत्पादन हुने सवै वस्तुको निर्यात हुँने , हुम्लासंग जोडिदा मानसरोवर तथा कैलाश जाने धार्मिक पर्यटकको ट्रान्जिट नै मुगु हुन सक्ने कतिपयको दावी छ । तर जिल्लाबाट कसैको पनि राजधानीको राजनीतिसंग बलियो पकट तथा पहुँच पुग्न नसक्दा जिल्लामा सञ्चालन तथा निर्माणाधिन अवस्थामा रहेका विकास पुर्वाधारका आयोजना कति त अपुरा छन भने कति त अलपत्र अवस्थामा छन ।

0 comments

बिचार लेख्नुहोस्..