प्रसुति पछि गर्भवति महिलाको मृत्यु , भगवान भरोसामा छन मुगुका गर्भवति महिला


सुमन मल्ल,
फागुन १९ मुगु------------
जिल्लाका २४ वटै गाविसमा स्वास्थ्य संस्था स्थापना गरि सरकारले बर्षेनी मातृ शिशु सुरक्षा कार्यक्रम मार्फत करोड औ रकम खर्च गरिरहेको भए पनि मुगुका गर्भवति महिला भगवान भरोसामा बाँचिरहेका छन । यसै हप्ता मात्र जिल्लामा एक जना गर्भवति महिलाको ज्यान गएको छ भने एक जना गर्भवतिको मुश्किलले ज्यान जोगिएको छ ।
जिल्लाको पश्चिम खत्याडको श्रीकोट गाविस वडा नम्बर १ श्रीकोट गाउँकी २६ वर्षिया रच्छु बाँनियाको सुत्केरी भएको १४ दिनमा आईतवार बेलुकि पाँच बजे उनकै घरमा मृत्यु भएको छ । सोही गाविसकै दृष्टि विहिन कल्स्या नेपालीकी श्रीमती जौकला नेपालीको गर्भमा शिशु उल्टो रहेको भन्दै जिल्ला अस्पताल मुगुले अन्यत्र लैजान फागुन १२ गते रेफर गरे पनि वर्षा र हिमपातका कारण हवाई सेवा बन्द भए पछि प्रसुति गराउन अन्यत्र जान नसकेकी जौकलाको गमगढीमा शुक्रवार राती मुश्किलले ज्यान जोगिएको छ भने शिशु मरेको अवस्थामा स्वास्थ्यकर्मिले निकालेका थिए । श्रीमान पुर्ण दृष्टि विहन रहेका र स्वास्थ्य संस्थामा लिने अरु कोही नभएकाले गमगढीमा रहेको डेरामा वेथा लागेपछि स्वाथ्यकर्मि उनको डेरामा राती पुगेर उनको ज्यान जोगाउन सफल भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख पशुराम नेपालीले बताए ।
गर्भवति भई सकेपछि ज्यान गुमाएकि बाँनिया र मुश्किलले ज्यान जोगिएकी जौकला मात्र होईनन जिल्ला स्वास्थ्य कार्यालयले तालीम प्रदान गरेका महिला स्वास्थ्य स्वयम सेवीकाले समेत गाउँमा प्रसुति सेवा नपाएर स्वास्थ्य संस्था जाँदै गर्दा बाटोमा ज्यान गुमानु परेको छ ।  गएको वर्ष जिमा गाविस बुम्च गाउँकि महिला स्वास्थ्य स्वयम सेविका उज्याली बुढालाई प्रसुती वेथाले च्यापेको र गाउँमा स्वास्थ्य  संस्था र स्वास्थ्यकर्मि नहुँदा सदरमुकाम गमगढी तर्फ ल्याउदै गर्दा दाक्च भन्ने स्थानमा विच बाटोमा नै मृत्यु भयो । त्यसको केहि दिन पछि सदरमुकाममा रहेको कार्कीवाडा गाविस भामवाडा गाउँमा एक जना महिलाको सुत्केरी  भईसकेपछि अत्याधिक रक्तश्रावका कारण ज्यान गयो भने गएको भदौ पहिलो हप्ता रोवा गाविस शोभा गाउँकी लछुमा बुढाको गर्भमा मृत शिशु रहे पछि गमगढी स्थित निजी अस्पतालमा १५ दिन पछि औषधी उपचार गरि घर फर्किएकै दिन मृत्यु भयो ।
यि बाहिर देखिएका घटना मात्र हुन । ग्रामीण क्षेत्रमा गर्भवति महिलाले नत स्वास्थ्य कर्मि देखेका छन नत औषधी नै । परमपरागत घरेलु विधिबाट सुत्केरी हुने गरेका छन भने सुत्केरी हुँदा भगवान भरोसामा बाँचेका छन । जिल्लामा हाल ८ वटा प्रसुति गृह छन भने एउटा जिल्ला अस्पताल रहेको छ । जिल्ला अस्पतालमा त भर पर्दो प्रसुति सेवा छैन भने ग्रामीण क्षेत्रमा प्रसुति गृह बने पनि स्वास्थ्यकर्मि र औषधी, उपकरण अभावले प्रसुति गृह भवन गाई राख्ने गोठ बनिरहेका छन । जिल्लामा रहेका स्वास्थ्य संस्था र प्रसुति गृहका स्वास्थ्यकर्मि अधिकाँश सदरमुकाम केन्द्रीत रहेका छन । स्वास्थ्यकर्मि कार्य क्षेत्रमा नबस्ने , पुर्ण दक्षता हाँसिल नगरेका कारणले पनि गर्भवति महिलाले ज्यान गुमाउनु परेको निमित्त कार्यालय प्रमुख नेपालीले बताए । पोषण युक्त खानाको अभाव, कामको भार, पारिवारिक तनाव , देवी देउताको विश्वासका कारण जिल्लामा गर्भवति महिलामा अत्याधिक रक्त अल्पता हुने गरेको र प्रसुति हुँदा ज्यान जोखिममा पर्ने गरेको नेपालीको भनाई छ ।
 एक वर्ष यता जिल्ला भरिमा आधा दर्जन गर्भवति महिलाको मृत्यु भएको छ । सरकारले सुरक्षित प्रसुति सेवाका लागि स्वास्थ्यकर्मि, औषधी , प्रसुति गृहमा ठुलो धनरासी लगानी गरेको र विगतका वर्षहरु भन्दा पछिल्ला समयमा सुरक्षित प्रसुति सेवा सञ्चालन भईरहेको दावी गरे पनि जिल्लामा भने सरकारी कार्यक्रम सुरक्षित मातृ शिशु कार्यक्रम प्रभावहिन बन्दै गएको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..