विद्यार्थी जंगलमा, शिक्षक बिदामा
मुगु न्युज डट कम,
चैत्र २५ मुगु------------
जिल्लामा रहेका सामुदायिक विद्यालयको वार्षिक परिक्षा सकिए लगतै विद्यार्थीहरु गुच्ची च्याउ खोज्न जंगल तिर लागेका छन भने शिक्षकहरु स्थानीय शिक्षकलाई परिक्षाको नतिजा तयार पार्ने जिम्मा लगाउदै घर विदामा हिडेका छन ।
बार्षिक परिक्षा सकिए पछि नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै परिक्षाको नतिजा तयार तथा सार्वजनिक गरि विद्यालय भर्ना अभियानका लागि तयारी गर्नु पर्नेमा शिक्षकहरु एक महिनाका लागि भन्दै घर विदामा गएका हुन । जिल्लामा रहेका १ सय ३६ सरकारी विद्यालयमा कार्यरत शिक्षक अधिकाँश जिल्ला बाहिरका रहेका र कतिपय स्थानीय शिक्षक पनि जिल्ला छोडेर हिडे पछि विद्यार्थीहरु पनि गुच्ची च्याउ संकलन गर्न जंगल तर्फ जाने गरेका छन । यो पटक वर्षा र हिमपात धेरै भए पछि बैशाख देखि पाईने गुच्ची च्याउ चैत्रमा नै पाईन थालेको हो । जिल्लामा प्रतिगोटा गुच्ची च्याउको २० रुपैया र प्रति केजीको १० हजार भन्दा बढि मुल्य रहेको छ । परिक्षा पछि विद्यालय बनद भएपछि विद्यार्थीहरु पढाई खर्च जुटाउन गुच्ची च्याउ संकलन गर्न जंगल तिर गएका हुन । बार्षिक परिक्षा सकिए पछि नतिजा तयारी तथा सार्वजनिक गर्नका लागि विद्यालयमा कक्षा सञ्चालन नभए पनि शिक्षक बस्नु पर्ने, परिक्षा पछि कुनै विदा दिने प्रावधान नरहेको जिल्ला शिक्षा कार्यालयको भनाई छ ।
फागुनको २० गतेबाट सुरु भएको सरकारी विद्यालयहरुको बार्षिक परिक्षा चैत्रको पहिलो सातामा सकिए लगतै ति विद्यालयका शिक्षकहरुले परिक्षाको उत्तर पुस्तिका परिक्षण , नतिजा तयार तथा सार्वजनिक गर्ने कार्य एक जनाको जिम्मा छोडेर घर तिर हिडेका हुन । बार्षिक परिक्षा सकिए पछि वैशाख १ गते देखि १५ गतेसम्म विद्यालय भर्ना अभियान सञ्चालन हुँदैछ भने बैशाख २० बाट कक्षा सञ्चालन हुने भए पनि अधिकाँश सरकारी विद्यालयका शिक्षक हिडेपछि भर्ना अभियान कार्यालय सहयोगिका भरमा सञ्चालन हुने देखिएको छ ।
0 comments
बिचार लेख्नुहोस्..