सहकारी तर्फ बढ्दो आकर्षण, डाँफेको वार्षिक कारोवार ७३ लाख
मुगु न्युज डट कम,
चैत्र १ मुगु-------------
गमगढीमा रहेको डाँफे बचत तथा ऋण सहकारी संस्थाको सातौ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
संस्थाले अहिले सदरमुकामका कार्कीवाडा,श्रीनगर,रोवा,पिना र रारा गाविसमा कार्य क्षेत्र बनाएको छ भने उसको वार्षिक कारोवार ७३ लाख रहेको छ । संस्थाले स्वरोजगार कोषको १८ लाख, दैनिक बचत २ लाख ३८ हजार १ सय ३०,मासिक बचत ५ लाख ४९ हजार ८५, व्याज ९ लाख २८ हजार ७९, शेयर थप ५२ हजार र गत वर्षको अल्या रकम ३७ लाख ५६ हजार ८ सय १४ गरि जम्मा यस वर्षको कारोवार ७३ लाख २४ हजार १ सय ८ रहेको संस्थाको आर्थिक प्रतिवेदनमा प्रस्तुत गरिएको थियो ।
सहकारीले नियमित बचत गर्ने, समयमा ऋण चुक्ता गर्ने लगायतका शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्कीवाडा गाविस वडा नम्बर ४ कि चन्दादेवी रोकायाले आफ्नो खेतवारीमा उतपादन भएको फलफुल ,तरकारी तथा अन्य कृषि उपज विक्रि गरेर बचत तथा सहकारीमा दैनिक बचत गर्ने गरेकि छन । उनले बचत गर्ने गरेको डाँफे बचत तथा ऋण सहकारी संस्थाको सातौ वार्षिक साधारण सभामा शनिवार भेटिएकि रोकायाले भनिन , पहिले पहिले केहि समस्या पर्दा सहयोग माग्न गाउँ भरि डुल्नु पथ्र्यो , बैंकमा भएको रकम समेत आपतकालिन अवस्थामा निकाल्न गाह्रो हुन्थ्यो तर अहिले सहकारीमा बचत गर्दा जतिवेला समस्या परे पनि कुनै समस्या हुँदैन । अहिले थोरै बचत गर्दा केहि विग्रिदैन, आजको सानो बचतले भोलिका सन्तानलाई राम्रो हुनुका साथै आपतमा काम लाग्छ रोकायाले भनिन् ।
सहकारी स्थापना भएपछि बचत गर्न सुरु गरेको तथा विगतमा जस्तो समस्या पर्दा चर्को व्याजदरमा साहुबाट ऋण लिनु पर्ने बाध्यता हटेको र समस्या पर्दा सहज रुपमा सस्तो वयाजदरमा सहकारीबाट ऋण पाउने गरेको सहकारीका शेयर सदस्य विष्णुबहादुर भण्डारीले बताए ।
यि दुई जना सहकारीबाट सहज सेवा पाउने उदाहरण मात्र हुन । जिल्लामा रहेका अन्य सहकारीहरुले आफनो क्षमता तथा कार्य क्षेत्रका आधारमा बचत, कर्जा प्रवाह तथा निक्षेप संकलन गरिरहेका छन । पाँच लाख भन्दा माथि कारोवार सञ्चालन गर्ने सहकारी जिल्लामा एक दर्जन बढि छन भने पाँच लाख भन्दा मुनि कारोवार गर्ने दुई दर्जन बढि सहकारी रहेको मुगु उद्योग बाणिज्य संघले जनाएको छ । पछिल्लो समयमा नेपाल सरकार युवा स्वरोजगार कोषले स्वरोजगारमुलक व्यवसायका लागि ऋण अनुदान दिन थाले पछि सहकारीको संख्या बढेको छ भने यसियाली विकास बंैक एडिवी को सहयोगमा नेपाल सरकारले हिमाली आयोजना मार्फत सहकारीहरुलाई सिपमुलक,आयआर्जन,व्यवसायमुलक क्षेत्र तर्फ लगानी गर्न थाले पछि पनि सहकारीको संख्यामा वृद्धि भईरहेको छ । कतिपय सहकारीले सानो लगानीबाट ठुलो उपलब्धी हाँसिल गरे पनि कतिपय सहकारीले अरुको अर्थात दाताको मुख ताकेर बसेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आय आर्जनका लागि तरकारी, पशुपालन, लघु उद्यम तथा फलफुल खेतिका लागि काम गर्छौ भन्ने सहकारी यस्तो अवस्थामा रहेका छन । पछिल्ला पाँच वर्ष यता सदरमुकाम गमगढीमा बाह्रै महिना हरियो सागपात र तरकारी स्थानीय कृषि व्यवसायीबाट उपलब्ध हुनु सहकारीको योगदान रहेको कार्यालयको दावी छ ।
शान्ति स्थापना पछि जिल्लामा विभिन्न गैर सरकारी संस्थाहरुको उपस्थिती र सहकारी स्थापना तथा लगानीका क्षेत्रमा सरकारी निती आए पछि ग्रामीण क्षेत्रका स्थानीयवासीहरु बचत तथा ऋण सहकारी संस्था स्थापना गरि दैनिक, मासिक बचत , कर्जा प्रवाह र निक्षेप संकलन तिर आकर्षित भईरहेका छन । साठीको दशकसम्म जिल्लामा बचत तथा सहकारीको संख्या शुन्य रहेको देखिन्छ भने साठीको दशक पछि देशमा शान्ति स्थापना हुँदा ताका देखि हालसम्म मुगुमा दर्ता भएका सहकारी संस्थाको संख्या ४९ रहेको सहकारी डिभिजन कार्यालय जुम्लाको तथ्याकंले देखाएको छ । कार्यालयको तथ्याकं हेर्दा जुम्लामा १ सय ७१ , हुम्लामा ६३, कालिकोटमा ७३ र डोल्पामा ३३ वटा सहकारी स्थापना भएका छन ।
जिल्ला सदरमुकाम गमगढीमा दर्जन बढि बचत तथा सहकारी संस्था स्थापना भएका छन भने जिल्लाका खत्याड , सोरु र करान भेकमा पनि बचत तथा सहकारी संस्था स्थापना हुने क्रम बढिरहेको छ । सदरमुकाममा अहिले दुईवटा सहकारी नमुना बन्न सफल भएका छन । सदरमुकाममा रहेको चंखेली बचत तथा सहकारीले बार्षिक दुई करोड पचास लाख बढिको कारोवार गरिरहेको छ भने डाँफेले ७० लाख बढिको कारोवार गरिरहेको छ ।
0 comments
बिचार लेख्नुहोस्..