गाउँमा औंषधी अभाव, सदरमुकाममा थन्किन्छ औषधी
मुगु न्युज डट कम------------
बैषाख २ मुगु--------------
सदरमुकाम गमगढी बाहिर रहेका स्वास्थ्य संस्थाहरुमा औषधी अभाव भईरहे पनि जिल्ला स्वास्थ्य कार्यालय मुगुले खरिद गरेको औषधी लामो समयसम्म बजारमा नै थन्किने गरेको पाईएको छ ।
स्वास्थ्य मन्त्रालय,विभाग तथा क्षेत्रिय मेडिकल स्टोर नेपालगञ्जले पठाएको तथा जिल्ला स्वास्थ्य कार्यालयले खरिद गरेको औषधी जिल्ला स्वास्थ्य कार्यालयमा नपुगेर लामो समयसम्म बजारमा नै स्टोर रहने गरेको छ ।
सदरमुकाम बाहिर रहेका स्वास्थ्य चौंकि, उप स्वास्थ्य चौकि र प्राथामिक स्वास्थ्य केन्द्रमा कहिले पनि पर्याप्त औषधी पुग्दैन भने पुगे पनि म्याद सकिन लागेको थोरै औषधी पुग्ने गरेको ति स्वास्थ्य चौंकिका स्वास्थ्यकर्मीले बताई रहेका वेला सदरमुकाम गमगढीको एक घरमा ठुलो परिमाणको औषधी भण्डारण गरिएको पाईएको छ । नयाँ सडक स्थित एक घरको भुई तलामा औषधी राखिएको छ । औषधी राखिएको कोठामा पानी पसेको छ भने केहि आषधी विग्रिएको अवस्थामा छ । जिल्ला स्वास्थ्य कार्यालयमा औषधी राख्न प्रशस्त ठाउँ रहे पनि बजारमा अलगै औषधी स्टोर गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मुगुका स्टोर किपर धान्ने बुढाले औषधी गाडीबाट भर्खरै पुगेकाले बजारमा राखिएको र अहिले कार्यालयमा ओसार्ने काम भईरहेको बताए । गाडीमा औषधी ल्याउने क्रममा फिनेलको भाँडा फुट्दा औषधीमा परेको र थोरै औषधी विग्रेको दावी गरे ।
सदरमुकाम बाहिरका स्वास्थ्य चौकिमा औषधी अभाव नभएको जिल्ला स्वास्थ्य कार्यालयले दावी गरेको छ । ति स्वास्थ्य चौकिका स्वास्थ्यकर्मीले औषधीको माग गरि नपठाएकाले पनि औषधी पर्याप्त छ भन्ने बुझिन्छ ,कार्यालयको तर्क छ । तर ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले धेरै पटक औषधी माग गरि पठाए पनि आउन नसकेको बताएका छन ।
एक त जिल्लामा आउने औषधी ढुवानी हुन समय लाग्ने हुँदा कतिपय अवस्थामा म्याद सकिने वेला जिल्लामा पुग्ने र ग्रामीण क्षेत्रमा पठाउन नपाउँदै म्याद सकिने गरेको स्रोतले बतायो । गएको वर्ष यसरी म्याद सकिएको औषधी ठुलो परिमाणमा जलाउनु परेको थियो । जिल्ला स्वास्थ्य कार्यालयमा औषधी भण्डार गर्ने पर्याप्त ठाउँ हुँदा हुँदै किन बजारमा राखियो भन्ने प्रश्न वेला बेला उठ्ने गरेको स्रोतको भनाई छ । अर्को तर्फ स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा औषधीको स्टोरमा स्वास्थ्यकर्मी नराखेर सामान्य मान्छे राख्दा औषधी वितरण प्रणालीमा समेत समस्या आउने गरेको बताईएको छ ।
द्धन्द्धको समयमा जिल्ला स्वास्थ्य कार्यालयको दर रेट निर्धारण समितिले बोल पत्र आव्हान गरि गमगढी बजारमा औषधीको स्टोर राख्ने गरिएको थियो । गमगढीमा रहेको स्वास्थ्यका सिनियर अहेव परशुराम नेपालीको घरमा स्टोर राखिएको भए पनि एक वर्ष पहिले स्वास्थ्यका तत्कालीन स्टोर किपर कृष्ण रोकाया सरुवा भई गए पछि नेपालीको घर खाली गरिएको थियो भने टेण्डर नै नगरि बजारमा स्टोर गरिएको पाईएको छ । स्रोतका अनुसार अहिले बजारमा देखिएको स्टोर भन्दा अरु दुई तिन ठाउँमा समेत औषधीको स्टोर रहेका छन । जिल्ला स्वास्थ्यको स्टोरमा औषधी भनेको वेला नपाउने गरेको तथा औषधी बजारबाट नै अन्यत्र जाने गरेको स्रोतले बताएको छ ।

0 comments
बिचार लेख्नुहोस्..