धेरै समय जिल्ला बाहिर बस्छन सरकारी कर्मचारीहरु


मुगु न्युज डट कम-------------
बैशाख ३ मुगु ---------------------
जिल्लामा रहेका सरकारी कार्यालयका कर्मचारीहरु अधिकाँश समयमा जिल्ला बाहिर नै बस्ने गरेका छन भने सेवा ग्राहीले भने जस्तो सुविधा पाउन सकिरहेका छैनन् ।
सरकारी कार्यालय मध्य जिल्ला विकास समिति मुगुमा त्यस्तो देखिएको हो । स्थानीय कर्मचारी बाहेक जिल्ला बाहिरका कर्मचारीहरु धेरै समय काज, विदामा बस्ने गरेको तथा स्थानीय कर्मचारीले वर्ष भरि कार्यालय कुर्नु पर्ने अवस्था रहेको जिविसले जनाएको छ । जिल्ला विकास समितिमा रहेका कुल ३६ जना कर्मचारी मध्य एक दर्जन जिल्ला बाहिरका कर्मचारी विदा ,काजमा छन । आर्थिक वर्ष सकिन तिन महिना बाँकि रहँदा समेत जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी लगायत अन्य कर्मचारी छैनन । जिविसमा अहिले आएका पत्रहरु दर्ता , सामान्य सिफरिस गर्ने बाहेक अन्य कुनै काम हुन नसकेको जिविसले जनाएको छ ।
 चालु आर्थिक वर्षको वैशाख पहिलो हप्तासम्म स्थानीय विकास अधिकारी भरत गौतम फागुन महिनामा पुरै समय जिल्लामा बसेको देखिए पनि बैशाखमा ११ दिन , जेठमा १६ दिन ,असाढमा १० दिन,भदौमा १० दिन, कार्तिकमा ९ दिन गरि ९८ दिन मात्र जिल्लामा बसेको देखिएको छ भने धेरै समय काज र विदामा जिल्ला बाहिर नै रहेको देखिएको छ । अहिले पनि मन्त्रालयमा काजमा रहेका गौतमको कतिपय महिनाको हाजिरीमा काज विदा केहि उल्लेख गरिएको छैन । त्यस्तै सव ईन्जिनियर प्रेमबहादुर बुढा गएको जेठ , असार र फागुनमा बाहेक  भदौमा ११ दिन, असोजमा ३ दिन, कार्तिकमा ९ दिन, मंसिरमा १२ दिन हाजिर देखिन्छ भने अरु महिनामा हाजिर शुन्य छ । जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी गौतम र सव ईन्जिनियर बुढा उदाहरण मात्र हुन । जिविस मातहतको दुर्गम क्षेत्र विकास समिति, ग्रामीण सामुदायिक पुर्वाधार विकास कार्यक्रम (आर.सि.आई.डब्लु ) कार्यक्रममा कार्यरत जिल्ला बाहिरका कर्मचारीको अवस्था उस्तै छ ।
यसो त जिल्लामा सरकारी कर्मचारी बसे नबसेको , काम गरे नगरेको हेर्ने तथा नियमाक निकाय जिल्ला प्रशासन कार्यालय हो । कुनै पनि सरकारी कार्यालयको प्रमुखले जिल्ला छोड्दा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको अनुमति लिनु पर्ने हुन्छ ,तर मुगुमा स्थानीय प्रशासनबाट अनुमति नपाईने अवस्था आए कार्यालय प्रमुखहरुले सम्बन्धित विभागबाट काज मिलाएर हिड्ने गरेका छन ।  सरकारी कर्मचारीले काजमा बसन पाउने तथा संचित विदामा बस्न पाउने प्रावधान रहेको र काज विदा उल्लेख नगरि जिल्ला बाहिर गएका कर्मचारीको हकमा विभागिय कार्वाहीका लागि गृह मन्त्रालय मार्फत लेखि पठाउने काम भई रहेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताए ।
जिल्लामा विकास पुर्वाधारका लागि सम्झौता गर्नु पर्ने, विल भुक्तानी गर्नु पर्ने लगायतका सवै काम अबको दुई महिना भित्र हुनु पर्ने भए पनि जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी , लेखा , योजना शाखाका कर्मचारी नहुँदा जिविस सुनसान रहेको छ । आफलाई निमित्तको जिम्मा दिए पनि कार्यालय आउने, हाजिर गर्ने, सामान्य निवेदन, सिफारिस गर्ने बाहेकका अरु कुनै काम हुन नसकेको निमित्त स्थानीय विकास अधिकारी जानक बहादुर मल्लले बताए । उनले भने , अरु कुनै अधिकार छैन ,आयो हाजिर ग¥यो,दिभरी घाम तापेर घर फर्किनु बाहेक अरु केही छैन ।

, ,

0 comments

बिचार लेख्नुहोस्..