राजनितीका कारण गाउँमा पानी बाराबार
सुमन मल्ल
बैशाख ९ मुगु
सदरमुकाममा राजनीतिक दलका नेता कार्यकर्ता एउटै मञ्चमा बस्ने ,सँगै खानपिन र बस उठ गर्ने गरिरहेका भए पनि सदरमुकाम देखि दुई घण्टामा पुगिने रुगा गाविसको वडा नम्बर १ तिर्प गाउँमा भने फरक आस्था र सिदान्त अँगालेकै आधारमा पानी बारा बारको अवस्था रहेको छ ।
६८ घरधुरी रहेको यो गाउँमा विगत तिन वर्ष देखि फरक राजनीतिक आस्थाका कारण विकास निर्माण, मर्दा पर्दा, विवाह जस्ता काममा एक अर्कालाई प्रतिबन्ध लगाईएको छ । गाउँमा २४ घर धुरी काँग्रेस सर्मथक ,एक घर माले र बाँकि घर धुरी एमाले सर्मथक रहेका छन । तीन वर्ष अघि गाउँमा रहेको सरस्वती प्राथामिक विद्यालयको व्यवस्थापन समिति गठन गर्दा सिर्जना भएको विवादले चर्को रुप लिए पछि गाउँमा यस्तो अवस्था आएको स्थानीय गोम बहादुर बढुवालले बताए । अहिले विद्यालयमा जिल्ला शिक्षा कार्यालयको ८ लाखको लागतमा भवन निर्माणको काम भईरहेको छ भने त्यहाँ एमाले सर्मथकले आफुहरुले ल्याएको योजना भन्दै अरुलाई काममा लगाएका छैनन ।
उनिहरुका बालबालिका अर्को विद्यालयमा जाने भए पनि काम गर्न बोलाए पनि नआएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर रोकायाले दावी गरे । उता काँग्रेस सर्मथक २४ घरधुरीका महिलाहरुले समुह खोलेर हिमाली परियोजनाबाट लसुन खेतिका लागि २० लाख बढि रकम पाउने भएपछि एमाले सर्मथकले विरोध गर्नुका साथै सो रकम आफुहरुले पनि पाउनु पर्ने भन्दै विवाद सुरु गरेका छन । गाउँमा लामो समय देखि एक अर्का बीच विकास निर्माणमा समान सहभागिता, बोलचाल बन्द हुन थाले पछि अहिले गाउँमा विद्यालय भए पनि २४ घर धुरीका एक दर्जन बालबालिका एक घण्टा उकालो हिडेर लह गाउँमा रहेको मष्टा प्राविमा पढ्न जाने गरेका छन । गाउँमा यस्तो विवाद बढ्न थाले पछि बुढा पाका दिक्क भएका छन । विगतमा गाउँ एकजुट हुदै सबैका सुख दुख र समस्यामा जम्मा हुने तिर्प गाउ वासी अहिले गाउँका युवाका कारण कसैको मृत्यु हुँदा समेत मलामी जान छोडेको तथा बुढा पाकाहरुका कुरा वेवास्ता गर्दा आफुहरु यस्तो देख्नु भन्दा मर्न पाए हुन्थ्यो भन्ने सोच आउने गरेको ८६ वर्षीय देवीसिंह रोकायाले बताए ।
केही दिन अगाडी एमाले सर्मथक घरका महिलाले गाउँमा धान कुट्ने ओखल बनाएका र त्यसको रकम कति भनेर काँग्रेस सर्मथकले सोध्दा विवाद भयो । ओखलको रकम नदेखाए पछि काँग्रेस सर्मथकले ओखल भत्काए भने काँग्रस सर्मथकले बनाएको पानी घट्ट एमाले सर्मथकले भत्काई दिए । गाउँका अगुवाले सदरमुकामबाट कुनै योजना माग गर्दा उपभोक्ता समिति वा निर्माण समिति गठन गर्दा अलग अलग हुन्छन भने एक अर्काको योजनामा अबरोध तथा विवाद हुने गरेको छ । तिन वर्ष यता यो गाउँमा पचासौ पटक झगडा परि मुद्दा समेत परेको स्थानीयवासीको भनाई छ । एउटाको अस्तित्व अर्कोले स्वीकार गर्न नसक्दा गाउँमा विभाजन चुलिदै गएको र सरकारी तथा गैर सरकारी क्षेत्रबाट आउने विकास निर्माणका योजनाहरु पहुँचको आधारमा कागजमा नै सिमित हुने गरेको पाईएको छ । यस्तो विवाद तथा विभाजन नरोकिए सरकारी तथा गैर सरकारी निकायबाट प्रदान गरिने सबै सेवा सुविधा रोकावट हुनु पर्ने केहि स्थानीयवासीको भनाई छ ।
0 comments
बिचार लेख्नुहोस्..