असिना पानीले फलफुल र गहुँ बाली नष्ट
मुगु न्युज डट कम-------
चैत्र २४ मुगु---------
सोमबार विहान ११ बजे तिर हावा हुरीसंगै परेको असिना पानीले जिल्लाका विभिन्न स्थानमा लगाईएको फलफुल तथा जौ र गहुँ बाली नष्ट गरेको छ ।
हावा हुरीसंगै आएको असिनाले सदरमुकाम आसपासका क्षेत्रमा लगाईएको स्याउ,ओखर ,आरुका फुल झारेको छ भने भरखर पसाएको जौ र गहुँ बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । असिनाले फलफुलका फुल झारे पछि यस वर्ष फलफुलको उत्पादन घट्ने भए पछि फलफुल कृषकहरु चिन्तित भएका छन । सदरमुकाम नजिकका रारा, ताल्च,रोवा, माँग्री र बामलाई स्याउ उत्पादनको पकेट क्षेत्र मानिन्छ । सोमवारको असिनाले सदरमुकाममा ७० प्रतिशत भन्दा बढि फलफुलको उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालयको अनुमान रहेको छ । जिल्ला भरि एक हजार दुई सय असि हेक्टर क्षेत्रफलमा फलफुल खेति हुँदै आएको छ ।
सदरमुकाममा असिनाले फलफुल तथा जौ र गहुँ बाली क्षति भएको प्रारम्भिक जानकारी आए पनि सदरमुकाम बाहिरका क्षेत्रमा के कति क्षति भयो भन्ने विवरण आउन नसकेको कार्यालयले जनाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..