सदरमुकाम आउन नसकेपछि नागरिकताबाट बञ्चित
सुमन मल्ल-------------
चैत्र २५ धैनकोट ( मुगु )---------
शारीरिक अपांगता भए पछि सदरमुकाम गमगढी पुग्न नसक्दा धैनकोट गाविस वडा नम्बर ९ धिमाल गाउँकी एक महिलाले नेपाली नागरिकताबाट बञ्चित हुनुका साथै उनले राज्यबाट पाउनु पर्ने अन्य सुबिधाबाट समेत बञ्चित हुनु परेको छ ।
जन्मजात आँखाको कमजोर दृष्टि भएकी चालिस वर्षीया ललिता शाही ( मल्ल) को दुई वर्ष अघि घर छाउने वेला छतबाट खसेर दाहिने खुट्टा भाँचिएको थियो । सदरमुकाम गमगढी देखि २१ कोष टाढा रहेको धैनकोटबाट उपचार गराउन अन्यत्र लिन नसकिने भएकाले भाँचिएको खुट्टाको घरेलु उपचार गरिए पनि राम्रो हुन सकेन भने उनलाई अहिले घर भित्र बाहिर गर्न पनि समस्या परेको छ । विवाह भएपछि उनका श्रीमान जग्गे मल्लले नागरिकता बनाउन सदरमुकाम त पु¥याएन नै दुई तिन घण्टामा पुगिने छिमेकि गाविस कालैमा गत वर्ष चलेको एकिकृत घुम्ति शिविरमा समेत लिन सकेनन । गाउँ भन्दा तल मुगु र हुम्ला कर्णालीको संगम स्थल बलाडीमा होटेल चलाएर बसिरहेको उनको पारिवारिक अवस्था पनि राम्रो छैन । एउटा एक वर्ष र एउटा दुई वर्षकी छोरी उनका साथमा छन । उनले दुखेसो पोख्दै भनिन्, म आफै हिड्न सक्दैन, श्रीमानले नागरिकता बनाउन जाउँ भनेन । मलाई बोकेर गमगढी लिने मान्छे नै को छ र ? मल्लले भनिन । मैले एक्लै बोकेर गमगढी लिन सकिन सहयोग गर्ने मान्छे समेत भएनन् । कालैमा चलेको एकिकृत घुम्ति शिविर बारे पनि केहि थाहा पाईएन ,उनका श्रीमान जग्गेले भने ।
नागरिकता नबन्दा कमजोर दृष्टि भएकि मल्लले पहिले पनि सरकारी निकायबाट पाउने सबै सुविधाबाट बञ्चित हुन पुगिन भने खुट्टा भाँचिए पछि पुर्ण अशक्त भए पनि अहिलेसम्म कुनै सेवा सुविधा पाउन सकेकी छैनन । उनले २०६४ सालको र २०७० सालको संविधान सभामा समेत मत हाल्न पाईनन । श्रीमान जग्गे मल्लको उमेर पचास नाघेको छ भने उनले अहिलेसम्म सातवटा विहे गरेका रहेछन । सातौ पत्नि बाहेक अरु छ जना विहे गरेको केहि समयमा छोडेर जाने गरे पछि उनि लामै समय भारत पलायन भएका उनका छिमेकीले बताए । कान केहि कम सुन्ने जग्गेले शान्ति स्थापना पछि गाउँ फर्केर ललितासंग विहे त गरे तर गाउँमा बस्न सकेनन । अन्तत नदि छेउमा होटेल चलाउन पुगे । उनले होटेल बनाएको ठाउँमा बाजुरा, हुम्ला ओहोर दोहोर गर्ने फाटफुट बटुवा बाहेक अरु कोही हिड्दैनन । धैनकोट गाविसमा जाने सरकारी तथा गैर सरकारी निकायका कुनै पनि कर्मचारी तल अरु बस्ति नभए पछि गाउँबाट झरेर कर्णालीको तिरमा रहेको जग्गेको घरमा पुग्दैनन । माथीकै गाउँबाट सदरमुकाम फर्किने गर्दा रहेछन ।
0 comments
बिचार लेख्नुहोस्..