पन्ध्र दिन लगाएर खसिमा खाद्यन्न बोक्न बाध्य छन हुम्ली
सुमन मल्ल (मुगु )
जनक शाही (हुम्ला)
चैत्र २५ ,पिठ्युमा झोला, झोला माथी मोवाई चार्ज गर्न सोलार बोकेर भेडा खसिलाई चामल बोकाएर हिड्दै गरेका हुम्ला जिल्ला कालिका गाविसका हर्कविर छत्यालले भने, के गर्ने खाद्य संस्थानको श्रीनगर डिपोबाट चामल पाईएन , मार्तडी पुगेर चालीस रुपैयाँ प्रति केजी हालेर आउनु परेको छ । सिमीकोट जाउँ भने चामल पाउने नपाउने ठेगान छैन , श्रीनगरबाट त पाईदै पाईएन । त्यसैले १५ दिन लागे पनि बाजुराबाट चामल ल्याउछौ छत्यालले थपे ।
नेपाल खाद्य संस्थानको हुम्लाको दक्षिण श्रीनगर वितरण केन्द्रले समयमा नै खाद्यन्न वितरण नगरे पछि छत्याल जस्तै हुम्लाका मैला, मदाना, कालिका , जैर लगायत पाँच गाविसका स्थानीयवासीहरुले बाजुरा सदरमुकाम मार्तडीबाट पन्ध्र दिन लगाएर खसि मार्फत खाद्यन्न बोक्न बाध्य भएका छन ।
खाद्य संस्थानको श्रीनगर वितरण केन्द्रबाट खाद्यन्न पाउन छोडेपछि भेडा, खसि लिएर बाजुराको मार्तडीबाट चामल ल्याउनु परेको कालिका गाविस वडा नम्बर ४ करगाई गाउँका कलक मल्लले बताए । उनले भने , खाद्य संस्थानको श्रीनगर वितरण केन्द्रबाट खाद्यन्न नपाए पछि १५ दिन लगाएर मार्तडीबाट चामल भेडा , खसीमा बोकाउनु परेको छ । यो समयमा घरमा अन्न सकिने तथा हिउँदे वाली पाक्ने समय पनि भई नसकेकाले यस क्षेत्रका स्थानीयवासीहरुले खच्चड, भेडा खसी लिएर बाजुराको मार्तडीबाट खाद्यन्न जोहो गर्ने गरिरहेका छन ।
पाँच गाविसलाई हेर्ने गरि स्थापना भएको श्रीनगर डिपोका लागि चालु आर्थिक वर्षको खाद्यन्न ढुवानीको ठेक्का लिएका कर्ण रावलले धनगढीबाट १ सय क्वीन्टल २० केजी ढुवानी गरिसके पछि बाँकि ढुवानी गर्न नसक्ने भने पछि पन्ध्र दिन पहिले जिल्ला खाद्य व्यवस्था समितिको निर्णय अनुसार पुन बोल पत्र आव्हान गरि बाजुराको मार्तडीबाट ढुवानी कार्य सुरु भईसकेको नेपाल खाद्य संस्थान हुम्लाका निमित्त प्रमुख जिबनाथ कडेंलले जानकारी दिए ।
चालु आर्थिक वर्षका लागि श्रीनगर डिपोका लागि बाह्र सय क्वीन्टल मध्य अहिलेसम्म २ सय ६५ क्वीन्टल ढुवानी भई वितरण समेत भईसकेको छ भने डिपोमा ४० क्वीन्टल मौज्दात रहेको छ । सर्केगाड डिपोका लागि एक हजार क्वीण्टल मध्य ८० क्वीण्टलसम्म खाद्यन्न पुगेको अनौपचारिक खबर मात्र आएको संस्थानले जनाएको छ । त्यस्तै सिमिकोटका लागि चालु आर्थिक वर्षमा आउनु पर्ने १० हजार क्वीण्टल मध्य ७ सय ३४ क्वीण्टल आउन बाँकि रहेको कार्यालयले जनाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..