दुई केजी नुन लिन सात हजार खर्च
मुगु न्युज डट कम
३१ वैशाख मुगु
जिल्लाका ग्रामीण क्षेत्रबाट दुई केजी नुन लिनका लागि सदरमुकाम गमगढी आउने सर्व साधारणले सात हजारसम्म खर्च गर्नु पर्ने बाध्यता रहेको छ ।
नेपाल सरकारले दुर्गमका लागि प्रति केजी दश रुपैयाँमा आयोडिनयुक्त नुन उपलब्ध गराई रहेको भए पनि जिल्लाका सोरु र करान भेकका १२ गाविसका स्थानीयवासीले एक केजी नुन लिनका लागि सदरमुकाम गमगढी पुग्न सात हजारसम्म खर्च गर्नु परेको उनिहरुको गुनासो छ । नेपाल साल्ट टेडिङ्ग कर्पोरेशन शाखा मुगुले खत्याड भेकका लागि चार सय क्वीन्टल, सोरुका लागि चार सय र करान तथा सदरमुकामका लागि तिन हजार पाँच सय क्वीन्टल नुन वितरण गर्ने जनाए पनि चालु आर्थिक वर्षमा खत्याडमा सबै नुन आएको , सदरमुकाम र करानको अट्ठाई सय तथा सोरुका लागि एक केजी पनि नआएको जनाएको छ ।
जिल्लाको सोरु भेकका फोतु, नार्थपु, भिई, जिमा, कालै, रारा, धैनकोट, खत्याडका ह्याँग्लु, सुकाढिक, करानका माँग्री, पुलु, डोल्फु , किम्री र मुगु गाविसका स्थानीयवासीले आयोडिन युक्त नुन नपाएर ढिके नुन उपभोग गर्दै आईरहेका छन । सोरु भेकका सात गाविसको नुनु ढुवानी गर्ने ठेकेदारले ढिलाई गर्दा उनिहरु ढिके नुन खान बाध्य छन भने करान भेकका पाँच गाविसका लागि सदरमुकाम गमगढी बाटै वितरण गरिने भएकाले त्यस क्षेत्रबाट बसाई सरि गमगढी आएका स्थानीयवासीले गाउँको नुन आफै झिकेर बजारमा बेच्ने गरेको पाईएको छ । एक केजी नुन लिन गमगढीसम्म पुग्न करान भेकका स्थानीयवासीलाई दुई तिन दिन लाग्ने तथा बजारमा पुगेपछि होटेलमा बस्नु पर्ने बाध्यतासंगै आउन जान एक हप्ताको समय लाग्ने हुँदा एक केजी नुन लिन सात हजार सम्म खर्च गर्नु परेको किम्री गाविसका स्थानीयवासी छिरिङ्ग ग्याल्बो लामाले बताए ।
महिनाको २७ गते पुर्वि करानका पाँच गाविसका लागि कर्पोरेशनले नुन वितरण गर्ने दिन तोकेको भए पनि समयमा जानकारी नहुने र सदरमुकामसम्म दुई केजी नुन लिन सात हजारसम्म खर्च हुने हुँदा स्थानीयवासीले गमगढी आउनु भन्दा मुगु गाविस पुगेर ढिके नुन किन्ने गरेको पुलु गाविस सेरोग गाउँका स्थानीयवासी पाल्जोल लामाले बताए । प्रत्येक वर्षको असार साउनमा चिनको तिब्बतमा लाग्ने १५ दिने हाटका बेला तिब्बतबाट ढिके नुन किनेर ल्याउने गरिरहेको उनिहरुले बताए । सरकारले आयोडिन युक्त नुन अनुदानमा दिदै आए पनि पुर्वि करानका पाँच र सोरु भेकका सात गाविसका स्थानीयवासीहरुले ढिके नुन प्रयोग गर्दै आएका छन ।
यस पटक मात्र नुन लिन सदरमुकाम पुगेका करान भेक स्थित किम्री गाविसका स्थानीयवासीले पत्रकारहरुसंग सामुहिक रुपमा भेटघाट गरेर पाँच गाविसका लागि नुनको वितरण केन्द्र पुलु गाविसमा रहनु पर्ने बताए । पुलु गाविसमा नेपाल खाद्य संस्थानको वितरण केन्द्र रहे पनि नुनको वितरण केन्द्र नभएकाले गमगढी पुगेर दुई केजी नुनका लागि सात हजारसम्म खर्च गर्नु भन्दा ढिके नुन नै प्रयोग गर्नु उपर्युक्त हुने उनिहरुले बताए । हामीले विगतमा जिल्ला प्रशासन कार्यालय , राजनितिक दलका नेतासंग नुनको वितरण केन्द्र पाँच गाविसको पायक पर्ने स्थानमा राखि दिन अनुरोध गरे पनि कसैले सुनुवाई नगरेको पाल्जोलले बताए । उनले भने, जनतालाई सरकारले आयोडिन युक्त नुन दिने भनेको छ तर सहज पहुँच छैन, दुई केजी नुन लिन पनि सदरमुकाम पुग्न सात हजार खर्च गर्नु पर्छ । सोरु भेकको सोरुकोट , खत्याड भेकको श्रीकोट जस्तै करानमा पनि नुनको वितरण केन्द्र स्थापना हुनु पर्छ । खाद्य अधिकारका विषयमा काम गर्दै आएको फियान नेपाल नामक गैर सरकारी संस्थाको समन्वयमा पत्रकारहरुसंगको भेटमा उनिहरुले करान भेकमा शिक्षक बाहेक सरकारको उपस्थिती नभएको गुनासो गरे । सरकारी संयन्त्रका राष्टिय कार्यक्रमका बेला बाहेक अरु वेला स्वास्थ्य, कृषि, बन ,पशु लगायतका सरकारी कर्मचारी नआएको उनिहरुको भनाई थियो ।

0 comments
बिचार लेख्नुहोस्..