शैक्षिक सत्र सुरु भएको एक महिनासम्म पनि विद्यालय खुलेनन


मुगु न्युज डट कम---------
जेष्ठ १ , मुगु-----------------
शैक्षिक सत्र सुरु भएको एक महिना वितिसक्दा पनि सदरमुकाम बाहिरका सरकारी विद्यालयहरु खुल्न सकेका छैनन ।
फागुनको अन्तिम साता विद्यालयको वार्षिक परिक्षा सकेर हिडेका शिक्षक अहिलेसम्म नफर्किदा विद्यालय बन्द अवस्थामा रहेको स्थानीयवासीहरुले बताएका छन । सोरु भेकका सात, करान भेकका पाँच र खत्याड भेकका सात गाविसका सरकारी विद्यालयका शिक्षकहरु नफर्केका र स्थानीय शिक्षकहरुले समेत विद्यालयमा नआएपछि कार्यालय सहयोगिले विद्यालय खोले पनि विद्यार्थी अनुपस्थित हुने गरेको खत्याड भेक स्थित रातापानी शिक्षा क्याम्पसका क्याम्पस प्रमुख धनबहादुर रावतले बताए । त्यस्तै सोरु भेकका सरकारी विद्यालयका शिक्षकहरु नहुँदा विद्यालय बन्द अवस्थामा रहेको रारा गाविस स्थित राष्टिय प्राथामिक विद्यालय गिलाह व्यवस्थापन समितिका अध्यक्ष मिमबहादुर बमले बताए । विद्यार्थीहरु विद्यालय पुगे पनि शिक्षकहरु नहुँदा पठन पाठन कार्य सञ्चालन नहुँदा विद्यार्थी खेलेर दिन विताई रहेका छन । उता करान भेकका सरकारी विद्यालयको पनि हालत उस्तै रहेको छ । अहिले हिमाली क्षेत्रमा यार्चा गुम्बा संकलन गर्ने समय भएकाले करानका पाँच गाविसका स्थानीयवासीहरु बालबालिका सहित हिमाल तिर जाने हुनाले असारसम्म विद्यालय विद्यार्थी विहिन हुने गरेका छन । करान भेकका सरकारी विद्यालयका शिक्षक र शिक्षा कार्यालयका स्रोत व्यक्ति संगै विद्यालय जाने तथा दुई तिन दिन विद्यालयमा बसेर पुन सदरमुकाम गमगढी तर्फ फर्किने गरेको किम्री गाउँका स्थानीयवासी जिग्मेद लामाले बताए ।
अहिलेसम्म विद्यालय नखुलेको तथा पढाई नभएको भन्ने जानकारी कार्यालयमा नआएको तथा भर्खरै मात्र स्रोत व्यक्तिहरु भेक क्षेत्रबाट प्रतिवेदन बुझाउन कार्यालयमा पुगेका जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत सुर्यबहादुर खत्रिले बताए । उनले भने , विद्यालय बन्द रहेको , शिक्षक नआएको जानकारी आएको छैन त्यस्तो हो भने तत्काल परि पत्र गर्छौ । एक वर्षमा दुई सय विस दिन विद्यालय खोल्नु पर्ने, एक सय बयानब्बे दिन पढाई हुनु पर्ने कानुनी प्रावधान रहे पनि सदरमुकाम गमगढी बाहेक ग्रामीण क्षेत्रका सरकारी विद्यालयहरुमा एक सय दिन पनि पढाई हुँदैन ।


, ,

0 comments

बिचार लेख्नुहोस्..