गाउँमा हुने यार्सा व्यापारको राजश्व उठ्दैन



सुमन मल्ल-----------------
साउन ४ मुगु -----------
जिल्लाको पुर्वी क्षेत्रमा पर्ने मुगु गाविसका हिमाली क्षेत्रमा पाईने यार्सागुम्बाको ठुलो व्यापार गाउँमा नै हुने भए पनि त्यसको राजश्व संकलन हुन सकेको छैन ।
वर्षेनी मुगुका हिमाली क्षेत्रबाट करोड औंको यार्सा संकलन भएर खरिद विक्रि हुने भए पनि त्यसको राजश्व जिल्ला बन कार्यालयमा न्युन संकलन हुने गरेको छ । वर्षेनी यार्सा संकलनका लागि कर्णाली अञ्चलका पाँच जिल्ला सहित अछाम ,वाजुरा,दैलेख, सुर्खेत, जाजरकोट, लगायतका जिल्लाहरुबाट दसौं हजार मुगुका पाटन क्षेत्रमा यार्सा संकलन गर्न पुग्ने गर्छन । उनिहरुले वनमा प्रवेश गरे बापत तिर्ने शुल्कबाट मात्र करोड बढि रकम संकलन हुन्छ भने ठुला व्यापारीले खरिद विक्रि गर्ने यार्साको राजश्व कमै मात्र संकलन हुन्छ । हिमाली पाटन क्षेत्रमा पुगेका संकलकहरुले हिमालमा नै स्थानीय व्यापारी तथा बाहिरबाट आउने व्यापारीलाई यार्सा बेच्ने गर्छन । कतिपय संकलकहरुले वनमा टिपेको यार्सा आफ्नो गाउँ तर्फ लिने गर्छन भने गाउँमा पुगेर अन्य व्यपारीलाई बेच्ने गर्छन । हिमालबाटै ठुलो परिमाणको यार्सा जुम्ला जाने गरिरहेको छ । हिमाली क्षेत्रका पाटनको बाटो हुदै हुम्ला, जुम्ला र डोल्पा तर्फ यार्सा जाने गरे पनि त्यसलाई रोक्ने र राजश्व संकलन गर्ने कुनै संरचना छैन । मुगु गाविसमा मात्र स्थानीय व्यापारीले यो वर्ष २५ देखि ३० केजीसम्म यार्सा संकलन गरेको स्थानीयवासी तोर्ची लामाले बताए । करानका पाँच गाविसमा रहेका १३ वटा गाउँ वस्ती छन । प्रत्येक गाउँमा यो वर्ष  न्युनतम दश देखि १५ केजी यार्सा आएको तथा उतिकै परिमाण यार्सा जिल्ला भन्दा बाहिर गएको व्यापारीहरुको भनाई छ ।  मुगु गाउँमा संकलन भएको यार्सा साउनमा तिब्बतमा लाग्ने हाटका वेला स्थानीय व्यापारीले बेच्ने र त्यसको राजश्व कतै नतिर्ने स्थानीयको भनाई छ । यार्सा संकलनका लागि वन प्रवेश गर्ने वेला मुगुको शिरानी चौर नाकामा बनका कर्मचारी पुग्दा थोरैले मात्र यार्सा खरिद तथा विक्रिका लागि राजश्व तिरेर ईजाजत लिए पनि महिनौसम्म हिमाली क्षेत्रमा पुग्ने बाह्य र स्थानीय व्यापारीले राजश्व तिर्दैनन । विगतका वर्षहरुमा हिमालमा थोरै मान्छे पुग्थे यार्सा पनि पाईन्थ्यो अहिले धेरै मान्छे किरा (यार्सा ) खोज्न जान्छन कमै पाईन्छ ,माँग्री गाविस वडा नम्बर ९ मह गाउँका  कार्मा छोमेल लामाले बताए । यो वर्ष मह गाउँबाट दुई सय भन्दा बढि स्थानीय हिमालमा गएका र कम कमाउनेले पचास हजार तथा धेरै कमाउनेले पाँच लाख ल्याएको लामाको भनाई छ । गाउँका व्यापारीले यो वर्ष खरिद गरेको यार्सा १५ केजीसम्म गाउँमा छ , कसैले हिमालमा नै बेच्छन कसैले गाउँमा आउने व्यापारीलाई बेच्छन भने कतिपयले तिब्बत लिन्छन लामाले भने । यसरी गाउँमा आएको यार्साको राजश्व कसैले तिर्दैन । गाउँमा नै व्यापारी आउछन, जिल्ला बाहिर बेच्न गए पो राजश्व लाग्छ गाउँमा बेच्नेलाई किन राजश्व तिर्नु वडा नम्बर ७ का कार्मा सन्टोक लामाले भने । पुर्वी करानका मह , माँग्री, रिउस, पुअ, ताखा, खारी, सेरोग, दाउरा, किम्री, कार्ती, डोल्फु, चिताई र मुगु गाउँमा सवै भन्दा बढि यार्सा आउने गर्छ भने जुम्लाका छुम चौर, डिल्ली चौर , गज्र्याङ्गकोट लगायतका गाविसहरुमा पनि हिमालबाटै ठुलो परिमाणको यार्सा जाने गर्छ । मुगु जिल्लाको पुर्वी करान भेकका पाँच गाविसका स्थानीयवासीले मात्र यो वर्ष यार्साबाट २० करोड बढि कमाएका छन । यि गाविसका प्रत्ेयक घरबाट वृद्ध वृद्धा बाहेक काखे बच्चा सहित परिवार नै यार्सा टिप्न हिमालमा जान्छन । जेठको दोस्रो साताबाट एक महिनाका लागि गाउँ नै खाली गरेर सबै हिमाल तिर जाने हुदा डेढ महिनासम्म विद्यालय पनि बन्द हुने गर्दछन । बाहिरका यार्सा संकलकहरु लामो समयसम्म हिमालमा बस्न नसक्ने , बोकेर लिएको खाने कुरा पनि नपुग्ने हुँदा चाँडै फर्किन्छन भने करान भेगका स्थानीयवासी लामो समयमा हिमालमा बस्ने तथा धेरै यार्सा संकलन गरेर उतै बेच्ने गर्दछन । पाँच वर्ष देखि १४ वर्षसम्म उमेर समुह भएका बालबालिका भएका घर परिवारले सबै भन्दा बढि यार्साबाट कमाई गर्छन ।
यो वर्ष जिल्ला बन कार्यालयबाट यार्सा खरिद विक्रिका लागि २३ केजीको ईजाजत लिए बापत २ लाख ३० हजार राजश्व संकलन भएको जिल्ला बन कार्यालयले जनाएको छ । व्यापारीहरुले थोरै परिमाण यार्साको मात्र राजश्व तिर्ने तथा खरिद विक्रि बढिको गर्ने गर्दा  राजश्व कम संकलन हुने गरेको कार्यालयको भनाई छ । हिमालमा नै राजश्व छलेर ठुलो परिमाणमा यार्सा खरिद विक्रि हुने भए पनि कर्मचारी लामो समय हिमालमा बस्न नसक्ने, सुरक्षाका हिसाबले पनि टाढा पहुँच , व्यापारीहरु डोल्पा, जुम्ला , हुम्लाबाट चोर नाकाबाट हिमालमा पुगेर जाने गर्दा पनि यार्साको राजश्व संकलनमा समस्या पर्ने जिल्ला बन कार्यालयको बुझाई छ । यसको साथै मुगु गाविससंग तिब्बबतको खुला व्यापार हुने भएकाले पनि करोड औ रकम बराबरको यार्सा अवैध रुपमा तिब्बत निकासी हुने गरेको छ ।
अहिले प्रतिगोटा यार्साको चार सय देखि पाँच सय छ भने प्रति केजीको २५ लाख देखि तीस लाखसम्म छ ।

,

0 comments

बिचार लेख्नुहोस्..