सदरमुकामका गाविसमा घरघरमा पुग्छन गाविसका कर्मचारीहरु
मुगु न्युज डट कम--------------
असार २३ मुगु ------------------
नेपाल सरकारले जेष्ठ नागरिक, बालबालिका, एकल महिलाहरुलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत प्रदान गर्ने सामाजिक सुरक्षा कार्यक्रमको रकम सदरमुकामका गाविसका कर्मचारीहरु नागरिकका घरघरमा पुग्ने गरेका छन ।
नेपाल सरकारले ६० वर्ष उमेर नाघेका वृद्ध वृद्धालाई मासिक पाँच सय, एकल महिलालाई पाँच सय तथा एक दम्पतिका पाँच वर्ष उमेर नपुगेका दुई बालबालिकालाई मासिक दुई सयका दरले रकम दिदै आएको छ । प्रत्यक चौमासिकमा सदरमुकाम गमगढी आसपासका श्रीनगर, कार्कीवाडा, पिना, रोवा र रुगा गाविसले रकम वितरणका लागि गाविसका कर्मचारीहरुलाई नागरिकका घरघरमा पठाउने गरेका छन । जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय , पत्रकार लगायत सरोकारवालाहरुको संयुक्त अनुगमनले त्यस्तो देखाएको छ । सामाजिक सुरक्षा कार्यक्रम नियमावली अनुसार सामाजिक सुरक्षा कार्यक्रमको मापदण्डमा परेका नागरिकलाई सेवा प्रवाह गर्दा गाविस सचिव, कर्मचारीहरुले घरमा नै पुगेर सेवा प्रदान गर्नु पर्ने व्यवस्था गरे बमोजिम कर्मचारीहरु नागरिकका घरघरमा सेवा प्रवाह गर्न पुग्ने गरेको जिल्ला विकास समितिका सामाजिक सुरक्षा कार्यक्रम अधिकृत हिराबहादुर भामले जानकारी दिए । विगतमा सामाजिक सुरक्षाको मापदण्डमा परेका नागरिकहरुले समयमा सेवा नपाएको, सामाजिक सुरक्षाको रकम लिन गाविस कार्यालय धाउनु परेको, कतिपय बालबालिका, जेष्ठ नागरिककले रकम नपाएको गुनासो आउने गरेको र अहिले जिल्ला भरिमा अनुगमन तिब्र पारिएको भामले बताए ।
सदरमुकाम गमगढी आसपासका पाँच गाविस बाहेक सदरमुकाम बाहिरका गाविसमा सामाजिक सुरक्षा कार्यक्रमको सेवा नागरिकले सहज रुपमा नपाएको, गाविस सचिवहरु अधिकाँश समयमा सदरमुकाममा नै बस्ने गरेको भन्ने गुनासा आएका र अब नेपाल सरकार स्थानीय विकास मन्त्रालयको नियम अनुसार सहज रुपमा नागरिकलाई सेवा प्रवाह नगर्ने , गाउमा नजाने गाविस सचिवलाई कानुनी दायरामा ल्याईने जिल्ला विकास समितिले जनाएको छ । चालु आर्थिक वर्षको तेस्रो चौमासिकसम्म सामाजिक सुरक्षा कार्यक्रमका लागि ६ करोड ८१ लाख रकम गाविस मार्फत खर्च भएको छ । जिल्ला विकास समिति सामाजिक सुरक्षा शाखाको तथ्याकं अनुसार जिल्ला भरिमा बाल संरक्षणको रकम पाउने पाँच वर्ष मुनिका बालबालिकाको संख्या १३ हजार, ६० वर्ष उमेर नाघेका जेष्ठ नागरिकको संख्या ६ हजार १ सय र एकल महिलाको संख्या १ हजार १ सय रहेको छ ।
0 comments
बिचार लेख्नुहोस्..