हाजिरी किताब विनाका स्वास्थ्य चौकि
सुमन मल्ल-----------
असार ३१ ( किम्री ) मुगु-------------
सदरमुकाम गमगढी बाहिर रहेका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा हाजिर गर्नु पर्ने भए पनि अधिकाँश स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुले नै हाजिरी किताब नै गायब गर्ने गरेको पाईएको छ ।
जिल्लाको पुर्वी करान क्षेत्रको किम्री गाविसमा रहेको स्वास्थ्य चौकिमा अनुगमनका लागि पुगेको अनुगमन टोलीले त्यहाँ कार्यरत कर्मचारीहरुको हाजिरी खोज्दा हाजिरी किताब नै नभेटेर फर्किएको हो । कार्यालय सहयोगि सहित सात जना स्वास्थ्यकर्मी रहेको स्वास्थ्य चौकिमा स्वास्थ्यकर्मी नगएको दुई महिना बढि पुगेको छ भने हाजिरी किताब कहाँ छ भन्ने कुरा अनुगमनका वेला सदरमुकामबाट स्वास्थ्य चौकिमा पुगेका स्वास्थ्य चौकि ईन्चार्ज विरेन्द्रबहादुर शाहीलाई समेत अत्तो पत्तो छैन । हाजिरी किताब यहि थियो , कार्यालय सहयोगीले आफनो घरमा राखेर सदरमुकाम गएको छ शाहीले अनुगमन टोलीसंग भने । स्वास्थ्य संस्थामा कार्यरत अरु स्वास्थ्यकर्मी तथा कर्मचारीको परिचालन, नियमितता र प्रशासनिक कडाई गर्ने अधिकार शाहीलाई भए पनि हाजिरी किताब बारे जानकारी छैन भन्दै शाहीले कर्मचारीले पालना गर्नु पर्ने नेपाल सरकार निजामति कर्मचारीहरुको आचार सहिंता र सरकारी नियमको खिल्ली उडाए । यो स्वास्थ्य चौंकि उदाहरणमात्र हो जिल्लाका सोरु , खत्याड र करान भेकमा रहेका स्वास्थ्य चौकिको अवस्था किम्री स्वास्थ्य चौकिको भन्दा फरक छैन । स्वास्थ्यकर्मी नियमित गराउन खोज्दा ठुलो राजनीतिक दबाव आउने गर्छ अनुगमनका क्रममा किम्री पुगेका जिल्ला अस्पतालका मेडिकल अकिृत डाक्टर रणबहादुर बोगटीले भने ।
किम्री स्वास्थ्य चौकिमा दरबन्दि रहेका अहेव कृष्ण बुढा जिल्ला स्वास्थ्यमा काजमा छन भने अनमी सिर्जना मल्ल अहिलेसम्म कार्य क्षेत्रमा गएकी छैनन । करार सेवामा कार्यरत अनमी अविसरा बम गएको दुई महिनाका लागि जिल्लामा नै काजमा छन । आर्थिक वर्षको समाप्तीसंगै उनको करार सेवा अवधी सकिएको छ । अन्य स्वास्थ्यकर्मी कहाँ छन भन्ने कुरा स्वास्थ्य चौकि ईन्चार्जलाई समेत थाहा छैन । कार्य क्षेत्रमा नबसे पनि सदरमुकाममा नै हाजिरी मिलाएर तलब भत्ता लगायतका सुविधा लिदै आएको पाईएको छ । अनुगमन टोली गाउँ तर्फ जान लागेको कुरा थाहा पाएपछि ईन्चार्ज शाहीले जिल्ला अस्पतालमा काजमा रहेकी अनमी वमलाई लिएर किम्री पुगेका थिए । तर गाउँ पुगेको भोली पल्ट अनुगमन टोली हिडे लगत्तै ईन्चार्ज शाहीले करार सेवा सकिए पनि अनमी बमलाई स्वास्थ्य चौंकिको जिम्मा दिएर सदरमुकाम फर्किएका छन । यो स्वास्थ्य चौकिमा प्रसुति सेवाका लागि प्रसुति गृह भए पनि त्यस भित्र कुनै सामान छैन भने भवन समेत भत्किन लागेको छ । सधै भरि स्वास्थ्य चौकि बन्द रहँदा स्थानीयवासी विरामी पर्दा घरेलु उपचार गर्न बाध्य भएका छन ।
स्वास्थ्य चौकिबाट औषधी त के हामीले डाक्टर ( अहेव ) देख्न पाएका छैनौ । पहिले पहिले त डाक्टर्नी साव (अनमी ) आउथ्यो हप्ता दश दिन बसेर जान्थ्यो , अहिले उनलाई पनि जिल्ला अस्पतालमा काजमा राखेको भन्ने सुनेका छौ स्थानीय सोनाम छिरिङ्ग लामाले भने । स्वास्थ्य चौकिमा स्वास्थ्यकर्मी नबसे पनि जिल्लाबाट नियमित रुपमा गर्भवती महिलालाई चार पटक गर्भ परिक्षण गरेको , स्वास्थ्य संस्थामा प्रसुति भएको रकम गए पनि गाउँमा त्यो रकम पुगेको छैन । किम्री गाविसका ९ वडाका महिला स्वास्थ्य स्वयमं सेविकाले पाउने रकम आर्थिक वर्षको समाप्ती हुने वेला गए पनि सवैले पाउन सकेका छैनन । गाविसमा रहेको स्वास्थ्य चौकिमा कर्मचारी नबसी सधै स्वास्थ्य चौकि बन्द रहँदा गाविसका किम्री, कार्ती, खारी, ताखा गाउका स्थानीयवासीहरु न्युनतम स्वास्थ्य सेवाबाट बञ्चित भएका छन भने नेपाल सरकारले ग्रामीण क्षेत्रका सर्वसाधारण नागरिकको स्वास्थ्य सेवाका लागि गरेको लगानी खेर गईरहेको छ ।
1 comments
बिचार लेख्नुहोस्..
July 17, 2014 at 5:31 AM
यो स्तम्भकार पूर्णतः राजनैतिक पूर्वाग्राही भएका कारण लेखिएको भ्रामक त्रुटिपूर्ण समाचार हो । अनुगमन टोली कुनै सरकारी टोली नभएर एउटा संस्थाको लगानीमा कृषि फलफूल तथा खानेपानी सम्बन्धि रोवा, माँग्री, पुलु र किम्रीको अनुगमन भ्रमणमा रहेको थियो । असार २७ गते किम्री पुगेको टोली शनिवार २८ गते विहान हे.पो. खोल्न लगाई हाजिरी हेर्ने खोज्दा विदा परेकोले इन्चार्जले अस्वीकार गर्दा भ्रामक र कपोलकल्पित समाचार लेख्न पुगेको र व्यक्तिगत पूर्वाग्राही ढंगले लेखिएको लेख र समाचार पित पत्रकारिता प्रति खेद व्यक्त गर्दछु ।
पिछडिएको दुर्गम क्षेत्रको समस्या, भौतिक पूर्वाधार र कम्तिमा स्वास्थ्यकर्मीको पीडा असुविधा महसुस गरी अझ सुधार गर्न के गर्नुपर्छ ? विकासको निम्ति सकारात्मक भूमिका खेल्न कलम चलाउन आग्रह गर्दछु ।
बिरेन्द्र ब. शाही