प्राविमा नयाँ शिक्षक नियुक्त गर्न पन्ध्र दिन लाग्ने



मुगु न्युज डट कम-----------
साउन २९ मुगु--------------
शिक्षक सेवा आयोगको परिक्षाबाट उर्तिण भएका प्राथामिक तहका शिक्षकलाई नियुक्ति प्रदान गर्न अझै पन्ध्र दिन  समय लाग्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
शिक्षक सेवा आयोगले योग्यता क्रमका आधारमा नियुक्ति प्रदान गर्ने गरि सिफारिस पत्र पठाएको र शिक्षा विभागले महिला , अपाङ्गलाई पहिलो प्राथामिकता दिएर नियुक्ति गर्नु भन्ने पत्र पठाएकाले कसलाई कहाँ पठाउने भन्ने विषयमा केहि विलम्ब भएको हो । पत्र प्राप्त भएको तिस दिन भित्र शिक्षकको नियुक्ति गरिसक्नु पर्ने भए पनि शिक्षक सेवा आयोग र मन्त्रालयले असारको पहिलो हप्ता हुलाक मार्फत पठाएका पत्र साउनको तेस्रो सातामात्र जिल्ला पुगेकोले पनि शिक्षकको नियुक्तिमा ढिलाई भएको बताईएको छ । सुरुमा शिक्षकका पेशागत संगठनका पदाधिकारीहरुले नयाँ शिक्षक पदस्थापन गर्न सहज बनाउन सक्छन भनेर छलफल गरिए पनि कुनै निर्णय दिन नसके पछि केहि ढिलाई हुन गएको जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी ललितजंग मल्लले जानकारी दिए । पदस्थापन गर्ने कार्यका लागि मंगलबार पनि शिक्षक संगठनका पदाधिकारीहरु बिच छलफल भए पनि कुनै निष्कर्ष आउन सकेन । अब कार्यालयले १५ दिनको सुचना निकालेर भदौं १५ गतेसम्म प्राथामिक तहका लागि आयोगको परिक्षामा उर्तिण भएका शिक्षकको पदस्थापना गरिसक्ने मल्लले जानकारी दिए । माध्यामिक तह र निम्न माध्यामिक तहमा नाम निकालेका १८ जनालाई यसै हप्ता नियुक्ति दिएर हाजिर समेत भईसकेका छन भने प्राथामिक तहमा नाम निकालेका ३१ जनालाई नियुक्ति दिने प्रक्रिया जारी रहेकाले अबको एक हप्ता देखि दश दिन भित्र सबै काम सकिने मल्लले बताए । मावि र निमावि तहमा नाम निकालेका शिक्षकहरुलाई नियुक्ति दिने कार्य सहज रुपमा सम्पन्न भए पनि प्रावि तहमा केहि किचलो देखिएको छ । शिक्षकका पेशागत संगठन ( राजनीतिक दल निकटका शिक्षक संगठन ) का पदाधिकारीहरुले आफु निकट शिक्षकलाई पायक पर्ने विद्यालयमा पठाउन कार्यालयलाई दबाब दिईरहेका छन । उनिहरुले सकेसम्म आफनो संगठनमा आबद्ध शिक्षकलाई प्रधानाध्यापक बनाउने , भएसम्म सदरमुकाम नजिक ल्याउने प्रयास थालेपछि शिक्षक नियुक्तिमा ढिलाई भएको स्रोतले बताएको छ ।
यो भन्दा पहिला जिल्ला भरिका सरकारी विद्यालयमा दरबन्दि मिलान गर्दा मर्कामा परेका शिक्षकलाई केहि सुविधा दिने तथा त्यति वेला परेको मुद्दालाई पनि यो वेला शिक्षकको पदस्थापना गर्दा कसैले नजिर राख्न सक्ने भन्दै कार्यालयले पेशागत संगठनलाई मिलाउन आग्रह समेत गरिरहेको स्रोतको भनाई छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..