डाक्टरले बचाए गर्भवतीको ज्यान
मुगु न्युज डट कम--------------
भदौ २१ मुगु ----------------
रक्त अल्पता उच्च भई अन्तिम अवस्थामा पुगेकी रारा गाविसकी एक गर्भवती महिलालाई आफनै रगत दिएर जिल्ला अस्पताल मुगुका डाक्टरले ज्यान जोगाएका छन ।
सात महिनाको गर्भ रहेको र रक्त अल्पता उच्च हुँदा ओछ्यानमा थला परेकी रारा गाविस वडा नम्बर ४ आँसीधारा गाउँकी २२ वर्षीया जडेनी रोकायालाई शुक्रबार अपरान्ह परिवारले जिल्ला अस्पताल ल्याई पु¥याएका थिए । शरिरमा रगत ( हेमोग्लोविन )को मात्रा १२ देखि १४ पैन्ट हुनु पर्ने भए पनि रोकायाको शरिरमा हेमोग्लोविनको मात्रा २ पैन्ट मात्र रहेछ , जिल्ला अस्पतालमा रेडक्रसले स्थापना गरेको रक्त सञ्चार केन्द्रमा रगत संचित गर्ने व्यवस्था छैन , उनलाई तत्काल ओ पोजेटिभ पाँच पैन्ट रगत दिनु पर्ने देखियो । रगत कतै नपाईए पछि वेलुकी ६ वजेसम्म केही सीप लागेन त्यस पछि मैले आफै एक पैन्ट रगत दिएँ, जिल्ला अस्पतालका डाक्टर भक्तदेव श्रेष्ठले मुगु न्युजसंग भने । जिल्लामा हवाई सेवा नियमित पनि नभएको रक्त सञ्चार केन्द्रमा रगत संचित गर्ने व्यवस्था समेत नभएकाले रोकायालाई रेफर गरेर पठाउन पनि सकिदैन थियो, उनको अवस्था करिब करिब अन्तिम नै थियो । त्यसैले तत्काल गर्भवतीको ज्यान जोगाउन मैले रगत दिएँ डाक्टर श्रेष्ठले भने । उनका अनुसार उच्च रक्त अल्पता हुँदा मुटु निस्क्रिय भएर काम गर्न नसक्दा ज्यान जानसक्छ । अब रोकायालाई एक पैन्ट रगत दिई सक्यौ , रगत दिने दुई जना तयारी अवस्थामा छन, उनलाई अझै एक हप्ता बढि अस्पतालमा नै २४ सै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राखिने डाक्टर श्रेष्ठले जनाए । पाँच पैन्ट ओ पोजेटिभ रगत दिएर तत्कालको खतरा टरे पनि थप उपचार तथा रक्त अल्पताको कारण पत्ता लगाउन सुविधा सम्पन्न ठाउँमा लिनु पर्ने अस्पतालले जनाएको छ ।
1 comments
बिचार लेख्नुहोस्..

September 8, 2014 at 10:43 PM
स्वस्थ सोच
समय परिवर्तनशील छ। कुनै पनि कुरा सधै एकैनासको हुन्न। जीवनको सुरुवात भएदेखि नै सुखदुुखको चक्र चलेको हुन्छ। सुखदुख मापन गर्ने कुनै साधन पनि छैन, एउटै स्थिती कसैको लागी सुख कसैलाई दुख वा कसैलाई सामान्य हुनसक्छ। एउटै वस्तुस्थितीलाई पनि हेर्ने नजर ,मुल्याङ्कन गर्ने फरक फरक दिमागले फरक फरक अवस्थाको आभास दिन्छ।
प्रसङ्ग जोड्न चाहन्छु मिती २०७१ साल भाद्र २१ गते नागरीक न्यूजमा प्रकाशित 'आफ्नै रगत दिएर डाक्टरले गर्भवतीको ज्यान बचाए' शीर्षकको समाचार। समाचार छापिएपछि एवं रेडियोले फुकेपछि त्यसको प्रतिक्रिया पढ्न र सुन्न पाउदा हर्षोन्भावित भएको छु। धन्यवाद दिन चाहन्छु ती सम्पूर्ण शुभचिन्तकहरुमा, यस रक्तदान प्रक्रियामा सहयोग गर्ने डा. रण बहादुर बोगती, ल्याब एसिस्टेन्ट बिष्णु खत्री, सम्पूर्ण नर्सिङ स्टाफ, कविन्द्र मल्ल,जित बि.क.सहित अन्य रक्तदाता एवं रक्तदान गर्न उत्सुकता देखाउने महानुभावहरु र आफ्नो पत्रकारिता मार्फत देशभरका जनमानस सामु पुर्याउने पत्रकार बन्धु सुमन मल्ल र अन्य सम्लग्न पत्रकार मित्रहरुलाई। हुनत रक्तदान कुनै ठूलो कुरा नि हैन, हामी चिकित्सक, स्वास्थ्यकर्मी मात्रले नभई प्रायले गरेका हुन्छन् तर यसरी अत्यावश्यक परेको बेला रक्तदान गरेको भनि समाचार आउदा र त्यसको प्रतिक्रिया पढेर आफैलाई पनि गर्वको महसुस भएको छ र यसरी नै अझ जनताको सेवा गरीरहू भन्ने प्रेरणा मिलेको छ। देशभरिका जनमानिसमा पहिचान हुनु एउटा ठूलो उपलब्धी महसुस भएको छ। यस्तै स्वच्छ सेवामा सधैं समर्पित हुन सम्पूर्ण प्रत्यक्ष अप्रयत्यक्ष सहयोगी हातहरूको अपेक्षा पनि राख्दछु।
सूचना सम्प्रेषण परिवर्तनकारी हुन्छ, यसमा सम्प्रेषकको ठूलो भूमिका रहन्छ। सकारात्मक स्वस्थ सोच सहित सुचना प्रवाह भए परिवर्तन पनि सकारात्मक रहन्छ। कसैलाई नकारात्मक कुरा देखाई डण्डा देखाई परिवर्तन गर्न खोज्नु भन्दा सकारात्मक कुराबाट प्रोत्साहन गरी परिवर्तन गर्नु फलदायी हुन्छ। स्वास्थ्यका पक्षबाट एउटा सकारात्मक सुचना सम्प्रेषण भएकोमा हामी स्वास्थ्यकर्मी आभारी छौं।नकारात्मक कुराका मात्र लाइन लाएर खेदो खन्ने पबृतिबाट हटेर प्रोत्साहन गर्नु पनि आवश्यक देखिन्छ।
अर्को कुरा गर्भवतिको रक्त अल्पता सम्बन्धीको कुरा। दुई बच्चा खेर गई अर्को गर्भ रहेपछि समयमै स्वास्थ्य संस्थामा देखाउन नजांदा यस्तो जटिल रक्त अल्पता सहित अहिले संस्थामा आइपुगिन्। समयमै गर्भ जांच गराएको भए आइरन चक्की खाएको भए यस्तो अवस्था हुने थिएन कि? स्वास्थ्य संस्था जानुपर्छ भन्ने हेक्का नहुनु ,पुरानै चलन अनुसार गर्भ र सुत्केरी को स्याहारमा सिमित हुनु एउटा प्रमुख कारण हो स्वास्थ्य संस्थामा जटिल गर्भावस्था र सुत्केरीको ब्यबस्थापन गर्नुपर्ने एवं मातृशिशु मृत्युदर बढि हुनु। घरमै प्रसुति गराउने, लामो व्यथा पछि मात्र, वा अत्यधिक रक्तश्राव भए पछि वा साल अड्केको दुईतीन दिन पछि मात्र स्वास्थ्य संस्थामा ल्याउने उदाहरण अझै बाँकी छन्। स्वास्थ्य संस्थामा गई गर्भवती महिलाले कम्तिमा चार पटक जांच गराउनु पर्छ गर्भको ४,६,८ र ९ महिनामा।गर्भवति महिलाले यसरी ४ पटक जांच गराई स्वास्थ्य संस्थामा प्रसुति गराएमा रू४०० र हिमाली, पहाडी र तराइका सुचिकृत संस्थामा क्रमशः रू १५००, रू१००० र रू५०० को यातायात खर्च बापत् सुबिधा पनि पाउँछन्।स्वास्थ्य संस्थामा जांच गराई प्रसुति गराउन अझै अभ्यास गर्नुपर्ने देखिन्छ।सबैतहबाट स्वस्थ सोचको प्रबर्धन भए समाज स्वस्थ हुनेछ।