रारा तालको उत्पतिको बैज्ञानिक तथ्य छैन
मुगु न्युज डट कम------------------
भदौ २१ मुगु---------------
नेपालकै सबै भन्दा ठुलो पर्यटकिय सुन्दरता बोकेको रारा तालको उत्पतिको बैज्ञानिक तथ्य र आधारहरु अहिलेसम्म कतै न देखिएको रारा राष्टिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ ।
रारा दहको उत्पति, रारामा पाईने जलचर तथा वनस्पति र वन्यजन्तुको बैज्ञानिक अध्ययन समेत हुन सकेको छैन भने रारा तालको लम्वाई पाँच किलो मिटर , चौडाई तीन किलो मिटर र तालको कुल क्षेत्रफल १० दशमलव ८ वर्ग किलो मिटर तथा गहिराई १ सय ६७ मिटर भन्दै आए पनि तालको गहिराई र उत्पतिका विषयमा कार्यालयसंग नेपाल सरकारको कुनै आधिकारिक तथ्य नरहेको निकुञ्ज कार्यालयका प्रमुख भोगेन्द्र रायमाझीले जानकारी दिए । राष्टिय निकुञ्ज घोषणा गर्नु पहिले २०३२ साल अगाडी स्वीस भुगर्भ विदहरुको टोली रारामा पुगेको र उनिहरुले गरेको अध्ययन अनुसार करिब दश हजार वर्ष पहिले मुगु कर्णाली पुर्वी करान क्षेत्र हुदै अहिलेको रारा ताल रहेको बाटो हुँदै पश्चिम तर्फ बग्ने गरेको र त्यस वेला नदिले बाटो बदल्दा तालको उत्पति हुन पुगेको उनिहरुले लेखेको पुस्तकमा उल्लेख गरिएको भए पनि राराको उत्पतिका विषयमा नेपाल सरकारको आफ्नो कुनै दस्तावेज नरहेको देखिएको छ ।
विभिन्न सामानय ज्ञानहरुमा रारा तालको गहिराई १ सय ६७ मिटर भनिए पनि यसको गहिराई कसले र कहिले नापिएको भन्ने तथ्याकं पनि सरकारसंग छैन । २०६६ सालमा जापान र त्रिभुवन विश्व विद्यालय किर्तिपुर स्थित भुगर्भ शास्त्र विभागका भुगर्भ विद सहितको एक टोलीले रारा तालको सतहको अवस्था बारे अध्ययन गर्ने क्रममा तालको मध्य भागको सतहको माटो झिक्दा तालको गहिराई १ सय ६८ मिटर छ भने पनि लिखितमा त्यसको कुनै अभिलेख र आधिकारिक दस्तावेज नरहेको कार्यालयले जनाएको छ । त्यति वेला नेपाल र जापानका भुगर्भ विदहरुले जापान, भारत र नेपालमा रहेका हिमतालको भौगोलिक अध्ययन गर्ने क्रममा रारा आई पुगेको थियो ।
रारा तालको उत्पति, गहिराई, रारामा पाईने बनस्पति जिव जन्तु तथा राराको भौर्गभिक र वातावरणिय अवस्थाका विषयमा राज्यका तर्फबाट बैज्ञानिक अध्ययन हुन सकेको छैन । राज्यको केन्द्रीय निकायको पहुँच नपुगेको ,भौगोलिक विकटता र स्रोत साधनका हिसाबले पनि धेरै खर्चिलो भएकाले पनि यसको बैज्ञानिक अध्ययन हुन नसकेको कार्यालय प्रमुख रायमाझीको बुझाई छ । अहिले रारा तालमा भ्रमण गर्न आउने जो कोहीले तालको उत्पतिका विषयमा जानकारी लिन खोजे पुराना धार्मिक किंवदन्तीहरु र विदेशीहरुले लेखेका पुस्तकमा उल्लेख गरिएको कुरा बाहेक थप नेपाल सरकारका कुनै दस्तावेज नहुदा समस्या परिरहेका कार्यालयको भनाई छ ।

0 comments
बिचार लेख्नुहोस्..