स्याउको उत्पादन पैतालिस प्रतिशतले घट्यो



मुगु न्युज डट कम-----------
असोज १३ मुगु--------
जिल्लामा अघिल्लो वर्ष भन्दा यस वर्ष स्याउको उत्पादन पैतालिस प्रतिशतले घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
यस वर्ष स्याउ फुल्ने वेला असिना परेको तथा आफियर ( एक वर्ष फल्ने एक वर्ष नफल्ने ) भएकाले स्याउको उत्पादनमा पैतालिस प्रतिशतले ह्रास आएको कार्यालयको भनाई छ । फलफुलको आफियर प्रक्रिया आँपमा हुने गरेको भए पनि पछिल्लो समयमा स्याउमा समेत देखा परेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत रामसुरथ पालले जानकारी दिए । स्याउको विरुवाले एक वर्षका लागि मात्र पोषण युक्त खाद्य पदार्थ संञ्चित गर्न सक्ने हुँदा एक पहिलो वर्ष फलेको स्याउ पछिल्लो वर्ष नफल्ने प्रक्रियालाई आफियर भन्ने गरिन्छ पालले भने । स्याउ कृषकले यस्तो देखिएमा मलजललाई प्राथामिकता दिनु पर्ने कार्यालयको भनाई छ । अघिल्लो वर्ष स्याउ धेरै फलेको थियो हवाई तथा सडक यातायात सुचारु नहुदा स्याउ कुहिएर खेर गयो । अहिले सडक र हवाई यातायात सुचारु छ स्याउ फलेन हामीलाई हरेक कुराले ठगेको छ कार्कीवाडा गाविसका कृषक छत्र रावलले भने । अघिल्लो वर्ष तीन चार लाखको स्याउ खेर गयो । अहिले फलेन एक लाखसम्मको मात्र छ रावलको भनाई थियो ।
अघिल्लो वर्ष जिल्ला भरिमा २६ हजार ८ सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष ११ हजार ७ सय ४० मेट्रिक टन  मात्र स्याउ उत्पादन भई ४५ प्रतिशतले स्याउको उत्पादनमा ह्रास आएको कृषि कार्यालयको तथ्यांकले देखाएको छ । यस वर्ष जिल्लामा नै प्रति केजी स्याउको ५० रुपैयाँ देखि ७० रुपैयाँ मुल्य रहेको छ । यो वर्ष स्थल मार्गबाट ५ दशमलब ५  मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको कार्यालयले जनाएको छ । हिजो आज हवाई मार्गबाट समेत दैनिक दुई तिन क्वीन्टलसम्म स्याउ जिल्ला बाहिर निर्यात भईरहेको छ । जिल्लाका बाम, ताल्च, सोरुकोट, घट्टलेख, शोभालाई स्याउको पकेट क्षेत्र मानिएको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..