विद्युत सेवा अनियमित हुँदा विद्यार्थीको पढाईमा समस्या
मुगु न्युज डट कम----------------
पौष २२ मुगु-------------------------------
नेपाल विद्युत प्र्राधिकरण गमगाढ जल विद्युत वितरण केन्द्रले वितरण गरेको विद्युत सेवा अनियमित हुन थाले पछि एसएलसी परिक्षाको तयारी गरिरहेका विद्यार्थीलाई समस्या परेको छ ।
चैत्र पहिलो हप्ताबाट सुरु हुने एसएलसीका लागि तयारी गर्न सदरमुकाम गमगढी स्थित महाकाली उच्च माध्यामिक विद्यालयका मात्रै डेढ सय विद्यार्थीले विहान पाँच बजे देखि विज्ञान, गणित र अँग्रेजी विषयका अतिरिक्त कक्षामा पढिरहेका छन । विद्यालयका विषयगत शिक्षकलाई विद्यार्थीले आफ्नै खर्च व्यहोर्ने गरि अतिरिक्त कक्षा सञ्चालन गर्न भने पछि पौषको पहिलो साताबाट सुरु गरिएका अतिरिक्त कक्षा गमगाढ विद्युत वितरण केन्द्रको विद्युत उत्पादन गृहमा समस्या उत्पन्न भए पछि १८ गते सम्म पुर्ण रुपमा विद्युत अबरोध भएको थियो । अहिले विद्युत सेवा सुचारु भए पनि वितरण केन्द्रले विहान सात बजे देखि राती दश बजेसम्म मात्र विद्युत सेवा प्रवाह गर्न थालेपछि विहान पख सञ्चालन हुने एसएलसी परिक्षाका अतिरिक्त कक्षा प्रभावित हुने गरेका छन ।
विहान पाँच बजे देखि सञ्चालन हुने गणित, अँग्रेजी र विज्ञान विषयका अतिरिक्त कक्षा विद्युत अभावका कारण प्रभावित भईरहेका महाकाली उच्च माध्यामिक विद्यालयले जनाएको छ । एसएलसी परिक्षाको तयारी गर्नका लागि विद्यार्थीले गाह्रो विषयमा ट्यूशन पढ्न खोजे पनि विद्युत अनियमितताका कारण पाठ्यक्रम सोचे जस्तै अगाडी बढाउन नसकिएको विद्यालयका गणित शिक्षक श्रीराम लामिछानेले बताए । विद्युत उत्पादन गृहमा रहेका उपकरणमा खराबी आए पछि अबरुद्ध रहेको विद्युत सुचारु गराउन नेपाल विद्युत प्राधिकरणले प्राधिकरणका र्ईन्जिनियर डम्बर केसीलाई जिल्ला पठाएको छ ।
केसीले तत्कालका लागि विद्युत सुचारु गरे पनि चिसोका कारण विद्युत धेरै खपत हुने भएकाले मेशिनले लोड धान्न नसक्दा राती दश बजेबाट विद्युत सेवा बन्द गर्नु परिरहेको नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रले जनाएको छ । चार सय किलोवाट उत्पादन क्षमता रहेको विद्युत गृहमा रहेका दुईवटा टर्वाईन पहिले नै विग्रिएको र अर्को टर्वाईनले पनि दुई सय किलो वाट विद्युत उत्पादन गर्नु पर्नेमा एक सय ५० किलोवाट मुश्किलले उत्पादन गरिरहेको वितरण केन्द्रले जनाएको छ । विग्रिएको टर्बाईनका लागि नेपालगञ्ज देखि सामान आउन बाँकि रहेको तथा चलेको टर्बाईनको बनाउने क्रम जारी रहेकाले सामान नआई पुग्दासम्म विद्युत नियमित हुन नसक्ने वितरण केन्द्रका कर्मचारी पुरनसिंह भामले जानकारी दिएका छन ।
0 comments
बिचार लेख्नुहोस्..