पचहत्तर प्रतिशत महिला घरमा नै प्रसुति
मुगु न्युज डट कम---------
पौष २२ मुगु-----------------
नेपाल सरकारले आमा र नवजात शिशुका लागि मातृ शिशु स्याहार कार्यक्रम सञ्चालन गरिरहेको भए पनि मुगुमा भने स्वास्थ्य संस्थामा पुगेर प्रसुति सेवा लिने गर्भवती महिलाको संख्या २५ प्रतिशत मात्र रहेको पाईएको छ ।
गएको हप्ता जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा सदरमुकाम गमगढी देखि ढेढ घण्टा टाढा रहेको पिना गाविसको स्वास्थ्य चौकि र प्रसुति सेवा तथा पोषणका विषयमा गरिएको संयुक्त अनुगमनले त्यस्तो देखाएको हो । जिल्ला भरिकै नमुना स्वास्थ्य चौकि र प्रसुति गृहका रुपमा गनिएको पिना स्वास्थ्य चौकि र प्रसुति गृहको तथ्याकंले जिल्ला भरिकै अवस्था देखाएको अनुगमनमा सहभागिले बताए । स्वास्थ्य चौकिमा पुगेका २० जना आमाहरु मध्य १४ जनाले आफ्नै घरमा सुत्केरी भएको बताए । गाविसमा प्रसुती गृह भए पनि दुर्गमताका कारण प्रसुति गृहमा पुग्न नसकेको वडा नम्बर १ घुईर गाउँकी धनलक्ष्मी रावलले बताईन । कहिलेकाँही राती व्यथा लाग्छ प्रसुती गृह टाढा हुन्छ त्यस कारण पनि हामीले घरमा नै सुत्केरी हुनु पर्छ रावलको भनाई छ । स्वास्थ्य चौकि रहेकै गाउँ पिनाका महिलाहरु प्नि घरमा नै सुत्केरी हुने गरेका छन । गाउँमा प्रसुति गृह भए पनि व्यथा लाग्दा स्वास्थ्य संस्था जाउ भन्ने मान्छे भएनन म आफै जान सकिन घरमा नै सुत्केरी भएँ पिना गाउँकी छिता शाहीले बताईन ।
सरकारले सुरक्षित सुत्केरी गराउन हरेक गाविसमा स्वास्थ्य चौकि र पायक पर्ने स्थानमा जिल्ला भरिमा ९ वटा प्रसुति गृह स्थापना गरि दिए पनि गर्भवती महिलाको पहुँच पुग्न नसकेको देखिएकाले अविलम्ब सरकारी सेवा प्रदान गर्न गर्भवती महिला र तिनका परिवार लक्ष्यीत गरि जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिककारी शम्भुप्रसाद रेग्मीले बताए । सदरमुकाममा नै ७५ प्रतिशत गर्भवती महिला घरमा सुत्केरी हुने गरेको स्वीकार गर्दै जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव पशुराम नेपालीले सवैको पहुँच प्रसुति गृहसम्म विस्तार गर्न जनचेतना मुलक कार्यक्रमलाई पहिलो प्राथामिकता दिईनु पर्ने बताए ।
0 comments
बिचार लेख्नुहोस्..