हावाले विद्यालयको छाना उडाए पछि विद्यार्थी चौरमा पढ्न बाध्य
मुगु न्युज डट कम--------------
पौष २९ मुगु---------------------
गएको शुक्रवार विहान एक्कासी चलेको हावा हुरीले विद्यालयको छाना उडाई दिएपछि अहिले ति विद्यालयका विद्यार्थी चौरमा बसेर पढ्न बाध्य भएका छन ।
शुक्रबार विहान दश बजे तिर चलेको हावा हुरिले रोवा गाविस वडा नम्बर ९ कम्फा गाउँमा रहेको जन जागृती प्राथामिक विद्यालयको पाँच कोठे भवनको छानो उडाई दिएको थियो । छानो उडाए पछि विद्यार्थीलाई चौरमा र छानो उडाएको कक्षा कोठा भित्र राखेर पढाउनु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक कर्णसिंह बोहराले जानकारी दिए । अर्को दुई कोठे भवनको छानालाई गाउँलेहरु आएर ठाउँ ठाउँमा डोरी बाँधेर ठुलठुला ढुंगामा बाँधे तर अर्को पाँच कोठे भवन जोगाउन सकिएन अब पानी पर्दा विद्यालय बन्द गर्नु पर्ने अवस्था आईसक्यो बोहराले भने । अहिले यो विद्यालयको कोठाका भित्ता समेत चर्किएका छन । त्यस्तै रुगा गाविसको तिर्प गाउँमा रहेको सरस्वती प्राथामिक विद्यालयको नव निर्मित दुई कोठे भवनको समेत छानो उडाई दिएको छ ।
यो विद्यालय जिल्ला शिक्षा कार्यालयको आठ लाखको लागतमा निर्माण गरिएको थियो तर हस्तान्तरण भने भईसकेको थिएन । भर्खरै निर्माण कार्य सम्पन्न भएको र जिल्ला शिक्षा कार्यालयलाई नबुझाउदै भवनको छाना हावाले उडाई दिए पछि स्थानीयवासी थप समस्यामा परेका छन । भवनको रंगरोगन गर्न मात्र बाँकि रहेको भवनको छाना उडेको र हस्तान्तरण नहुँदै छाना गए पछि यो विषयमा के गर्ने भन्ने विषयमा केही भन्न नसकिने जिल्ला शिक्षा कार्यालयका सब ईन्जिनियर नेताप्रसाद चौलागाईले बताए । मैले छाना उडाएका सबै विद्यालय पुगेर त्यहाँको अवस्थाबारे कार्यालयलाई प्रतिवेदन पेश गरेको छु तर यो वर्षमा के हुन्छ थाहा छैन कार्यालयमा अहिले एक जना सहायक लेखापाल बाहेक अरु कोही छैनन चौलागाईले भने ।
यस्तै हावा हुरीले ईलाका स्वास्थ्य चौकि ढुंगेधाराको पुरै छानो उडाए पछि अहिले त्यहाँ पुग्ने विरामीका लागि संगै रहेको प्रसुति गृहमा बसेर उपचार गर्नु परेको स्वास्थ्य चौकि ईन्चार्ज शिवहरि रोकायाले बताए । स्वास्थ्य चौकि भवनका पाँचवटा कोठाको छाना उडाए पछि विरामीको चाप थेग्न मुश्किल भएको रोकायाले जानकारी दिए । स्वास्थ्य चौकि संगै रहेको एक निजी विद्यालय र पशु सेवा केन्द्रको छाना समेत उडाई दिएको छ । विद्यालय , स्वास्थ्य चौकिको छाना उडाएको दुई दिन पछि मातहतका कार्यालयबाट अनुगमनका लागि सरकारी तथा सरोकारवालाहरुको एक टोलीले अनुगमन गरेर गएको छ छिट्टै सहयोग हुन्छ भन्ने अपेक्षा गरेका छौ उनले भने ।
0 comments
बिचार लेख्नुहोस्..